Swornakshar Logo

भीआईपीको राहत घोषणा तर हावा हुरी पिडित अहिलेपनि खुल्ला आकास मुनी

१९ चैत । काठमाडौ । आइतबार राती बारा–पर्सामा आएको हावाहुरीले जनधनको क्षती भयो । धनजनको क्षति पछि निरीक्षण तथा अवलोकन गर्न र राहत वितरण गर्न सोमबारबाट यहाँ विशिष्ट व्यक्तिहरुको ताँती लागेको छ ।

घटना भएको ठाउँ हेर्नका लागि अहिले भारत तथा नेपालका विभिन्न ठाउँबाट मान्छेहरु को भिड लाग्ने गरेको छ । जसले गर्दा राहत तथा उद्धारमा कठिनाई भइरहेको स्थानीयहरु बताउछन् ।

ठूला–ठूला नेताहरु हावाहुरी प्रभावित क्षेत्रमा जादा मेला जस्तै लाग्ने गरेको छ, काम गर्नेभन्दा बढी हेर्नेको भिड छ । एउटा कुनै नेता पुगेमा , उनको पछि–पछि १०–१२ वटा गाडी हुन्छन्, गाडी आउने बित्तिकै मान्छेहरु त्यसैको पछि कुद्छन् ।’

अहिले राहतको कमी छैन, तर त्यो व्यवस्थित हुन नसकिरहेको स्थानीयले बताए । स्थानीय अधिकारीहरुलाई पनि मन्त्री र नेताहरुको पछि–पछि हिँड्दैमा फुर्सद देखिदैन । स्थानीय भन्छन् ‘नेताहरु लर्को बाँधेर आउनुभन्दा राहत समाग्री पठाई दिए राम्रो हुन्थ्यो ।

अहिले प्रभावित ठाउँमा विभिन्न संघ संस्थाबाट राहतहरु आउने क्रम जारी छ तर त्यसलाई व्यवस्थित गरेर बाँड्न सकिएको छैन । भीआईपीहरुको ओहोरदोहोरले वितरण कार्यलाई प्रभावित पारेको देखिन्छ ।

भीआईपीहरुको लर्को लाग्दा राहत वितरणमा समन्वय देखिएको छैन । त्यस्तै, राहत वितरणमा पनि अनियमिता हुन थालेको आरोपहरु लाग्न शुरु भइसकेको छ । पहुँचवालहरुले मात्र राहत सामग्रीमा कब्जा जमाएको पीडित स्थानीयहरुको आरोप छ ।

आँधीपछि बारा र पर्सामा भीआईपीहरुको लर्को नै लाग्ने क्रम जारी नै छ । प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्मन्त्री उपेन्द्र यादव, भौतिक योजना मन्त्री रघुबीर महासेठ, ३ नं प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु, सांसदहरु स्थलगत निरीक्षणमा बारा पुगेका छन् ।

स्थानीयका अनुसार भीआईपीहरुको लर्को लाग्दा घाइतेहरुको उपचारमा कठिनाई भएको छ । ‘एकपछि अर्को भीआईपी अस्पताल आउँदा उपचारमा समस्या भएको छ,’ कलैया अस्पतालका एक चिकित्सकले भने, ‘विरामीलाई उचित ट्रिटमेन्ट गर्नै समस्या हुन थाल्यो । भीडभाड र बाक्लो ओहोरदोहोरले हामीले बिरामीलाई उचित हेरचार गर्न पाएका छैनौँ ।’

भीआईपीमात्रै होइन, विभिन्न संघ संगठन, सांसद, व्यापारी पनि आधी पीडितलाई मल्हमपट्टीको आश्वासन बोकेर बारा पुग्ने क्रम जारी छ ।

यति धेरै सहयोगि हातहरु हुँदाहुदै पनि पीडितहरुले तत्काल पाउनुपर्ने राहत पाएका छैनन्, यति सम्मकी सरकारी निकायले वितरण गरेको पालसमेत हराएको भन्दै पीडितहरु छट्पटिरहेका छन् ।

पीडितहरुमध्ये कतिपयको घरबास उठेको छ । खानेकुरा छैन । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा छैन । दिनको चर्को घाम र रातमा खुला आकासमुनि पीडितहरुले रात कटाइरहेका छन् ।

हावा हुरीले २७ जनाको ज्यान लिएको छ भने ६ सय बढी घाइते बनेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार बारामा मात्रै १५ सय घरमा क्षति पुगेको छ । आइतबारको उक्त घटनाको मंगलबार दिउँसोसम्म पनि क्षतिको आधिकारिक विवरण आइसकेको छैन ।

राहत घोषणा कार्यान्वयन कहिले होला ?

प्रकृतिले निम्त्याएको विपत्तिमा सहयोग जुटाउनु नराम्रो होइन । तर, हाम्रो समाजमा कुनै विपत्ति आइपर्दा राहत घोषणा गर्ने होडवाजी चलेपनि पीडितहरुले राहत पाउन भने लामो समय कुर्नुपर्ने तितो यथार्थ रहँदै आएको छ ।
चाहे त्यो सरकारको हकमा होस् या पार्टी र विभिन्न संघ संस्थाकै हकमा पनि किन नहोस् राहत घोषणामा होडवाजी चल्छ तर पीडितहरुले कहिले पाउने हो अत्तोपत्तो हुँदैन । जसले गर्दा पीडितहरु आशैआशको पीडामा लामो समय कुर्न बाध्य हुन्छन् ।
हालसम्म आएको राहतको प्रतिबद्धता

काँग्रेस संघीय सांसद– २ दिनको तलव

नेकपाका संघीय सांसद– १ दिनको तलव

राजपा नेपाल– ५ लाख
३ नं. प्रदेश सरकार– १ करोड
२ नं.प्रदेश सरकार– मृतकका परिवारलाई ३ लाख

शेरबहादुर देउवा– २५ लाख

डा. बाबुराम भटट्राई– १५ दिनको तलव

विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख

एकनाथ ढकाल–५० लाख

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबारमात्रै २ लाख बढि वितरण ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – ५ लाख