Swornakshar Logo

धादिङमा ठूलो परिणाममा लागूऔषध बरामद

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरी ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरेको छ।

गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश उत्पादन गर्ने कारखाना सञ्चालन गरी चरेश बेचबिखन भइरहेको सूचनाको आधारमा खोजतलासमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले बिहीबार राति ४५ वर्षीया सुकुमाया तामाङलाई चरेश र गाँजासहित पक्राउ गरेको हो।तामाङलाई पक्राउ गर्दा घर तथा गोठमा लुकाइराखेको अवस्थामा चरेश १ सय १० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३ सय ९० किलोग्राम र गाँजाको दानासहितको कच्चा धुलो १ सय ९ किलोग्राम बरामद गरेको ब्युरोले जनाएको छ।पक्राउ परेकी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखी अनुसन्धान गरिने भएको छ। यो वर्ष प्रहरीले धादिङको राजमार्ग क्षेत्रबाट पटक–पटक ठूलो परिणाममा चरेश र गाँजा बरामद गरेको छ।

धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथलाई चरेश कारोबारीहरुले पछिल्लो समय लागुऔषध ओसारपसारको मुख्य नाकाको रुपमा प्रयोग गर्दै आइरहेका छन्। धादिङको राजमार्गबाट हप्ताजसो प्रहरीले लागुऔषध बरामद गर्दै आइरहेको छ।प्रहरीले धादिङ जिल्लाको पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारबाट गएको शुक्रबार एक सय ६४ किलो चरेशसहित एक भारतीयलाई पक्राउ गरेको थियो। यस्तै, प्रहरीले गत पुस १९ गते गजुरी बजारबाटै दुई सय ३५ किलो चरेससहित दुई जना भारतीयलाई पक्राउ गरेको थियो।गएको माघ २७ गते तीन सय ६० किलो चरेशसहित तीन भारतीयलाई पक्राउ गरेको थियो। फागुन २६ गते गजुरी बजारबाट नै एक सय ५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरिएको थियो।

सबै लागुऔषध बस र ट्रकमार्फत राजमार्गकै बाटो प्रयोग गरी ओसारप्रसार भइरहेको अवस्थामा बरामद गरिएको हो। पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक छन्।

प्रहरीले अभियान चलाएर लागुऔषधको कारोबारी पक्राउ गर्न खोजे पनि मुख्य कारोबारी उम्कने र भरिया मात्र समातिने गरेको छ। धादिङ प्रहरीले गत साउनदेखि चैत १४ गते सम्म ८ सय ७३ किलो चरेश, ६ सय ३५ किलो ७ सय ९० ग्राम गाँजा, नाइट्रोभेट ५९ ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट, कफट्याब १० ट्याब्लेट, ट्रमा लेखिएको क्याप्सुल १६ पिस, कलभम ६२५ लेखिएको क्याप्सुल ४ ट्याब्लेट बरामद गरेको जनाएको छ ।लागुऔषध गाँजा र चरेश तस्करीमा संलग्न विभिन्न घटनामा एक वर्षमा ३७ जना पक्राउ परेका छन्। जसमध्ये तीन वटा कन्टेनर, ट्रकसहित ८ जना भारतीय अनुसन्धानका लागि अहिले थुनामा रहेका छन्।