Swornakshar Logo

विप्लवका ९ कार्यकर्तालाई ८ दिन थुनामा राख्न अदालतको अनुमति

नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश वली सहित ९ जनालाई ललितपुर जिल्ला अदालतले ८ दिन थुनामा राख्न अनुमति दिएको छ । काभ्रेबाट पक्राउ परेका वलीसहित ९ जनालाई विध्वंसात्मक गतिविधि र हातहतियार बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई बम विस्फोट गराइ नागरिकको हत्या गरेको, अवैध हातहतियार बोकेको, राज्य विरुद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्नका लागि आज जिल्ला अदालत ललितपुरमा पेश गरेको थियो । पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालत पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

वलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र चालक धर्मराज वहाक पक्राउ परेका थिए ।उनीहरुको साथबाट ५ थान हतियार फेला परेको प्रहरीले आरोप लगाएको छ ।