Bagmati Samachar Logo

विप्लव नेतृत्वको नेकपालाई उचाल्ने गरी समाचार नदिन सञ्चारमन्त्रीको आग्रह

९ चैत । काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिसांलाई प्रोत्साउन गर्ने समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेका छन् । हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८औ स्थापना दिवसका अवसरमा काठमाडौँमा आज भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।
‘हिंसा गर्नका लागि कसैले साथसहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ,’ उनले भने, ‘सरकारले संगठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हनन भएको मान्ने कि न मान्ने ?’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चारमाध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बास्कोटाको भनाई छ ।

सञ्चारमाध्यमको नाम नलिए पनि मन्त्री बास्कोटाले त्यस्ता सञ्चारमाध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए । केही दिनअघि विप्लव नेतृत्वको पार्टीलाई कारबाही गर्ने बारेमा पनि नेपली सेनाले असहमति जनाएको बारेमा समाचार प्रकाशित भएकोमा पनि उहाँले असन्तुष्टि जनाए ।

कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाउन सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भए पनि कसैलाई कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको मन्त्री बास्कोटाले उल्लेख गरे ।

सामुदायिक रेडियोको नीति तयार पार्दा सामुदायिक रेडियोका अभियन्तासँग छलफल गर्ने प्रतिबद्धता जनाउँदै उनले स्थानीय सरकारले रेडियो चलाउन मिल्दैन भनेर अहिले बहस गर्ने बेला होइन चने ।

संविधानले नै त्यो व्यवस्था गरिसकेकाले अहिले संविधान संसोधन गर्ने अवस्था नरहेको मन्त्री बास्कोटाको भनाइ थियो । सञ्चारमन्त्री बास्कोटाले सामुदायिक रेडियोलाई तीनै तहका सरकारले साझेदार ठानेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मीनेन्द्र रिजालले अब सरकारले बनाउने रेडियो नीति प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सामुदायिक रेडियोको पहिचान बनाउन जरुरी रहेको बताउँदै रेडियोको सङ्ख्या नबढाई डिजीटल माध्ययममा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।