Bagmati Samachar Logo

नेपाल ५ रनले हरायो चीनलाई

१३ फागुन । काठमाडौं । नेपालले महिला विश्वकप क्रिकेटमा चीनलाई ५ रनले पराजित गरेको छ । उपकप्तान सिता रानामगरको कसिलो बलिङमा चीनलाई ५ रनले पराजित गर्दै नेपालले आइसीसी महिला विश्वकप अन्तर्गत एशिया छनोटमा चौथो जित निकालेको छ ।
७८ रनको लक्ष्य पछ्याएको चीन निर्धारित ओभरमा ६ विकेटको क्षतिमा मात्र ७२ रनमा समेटिपछि नेपालले चौथो जित निकालेको हो । जितसँगै नेपालले छनोट हुने झिनो सम्भावना कायमै राखेको छ ।
टे«डथाइ क्रिकेट मैदानमा चीनका लागि झाङ मी ले सर्वाधिक ३३ रन बनाएपनि टोलीलाई जिताउन सकिनन् । ३९ बलमा २ चौका प्रहार गर्दै मी ले ३३ रन बनाइन् । चाइयुन झाउले १८ रन बनाउनु बाहेक चीनका ५ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । चीनका खेलाडीलाई सस्तैमा रोक्न नेपालकी उपकप्तान सिता रानामगरले ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सिताले १९ रन खर्चिएकी थिइन् । कविता कुँवरको नाममा १ विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइकी थिइन् । सिता रानामगरले ११ तथा बिन्दु रावलले १० रज जोेड्दा इन्दु बर्माले ८, कप्तान रुविना क्षेत्रीले ५, सरीता मगरले ६ तथा अप्सरी बेगमले ३ रन बनाएकी थिइन् । नेरी थापा ७ तथा कविता कुँवर ३ रनमा अविजित रहिन् ।
चीनकी वाङ मेङ र हान लिलिले समान २–२ विकेट लिँदा वुजुवान र लिउजि र लि हावईले १–१ विकेट लिएका थिए । नेपालले यसअघि मलेशिया, युएई र हङकङलाई पराजित गरेको थियो भने घरेलु टोली थाइल्याण्डसँग हार ब्यहोरेको छ । नेपालले अब अन्तिम खेल १५ गते कुवेतसँग खेल्नेछ । ८ अंकसहित नेपाल लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक रहेको युएई रनरेटका आधारमा दोस्रो स्थानमा छ । पाँचै खेलमा जित निकालेको थाइल्याण्ड १० अंकसहित शिर्ष स्थानमा छ । शिर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।