Swornakshar Logo

घर फर्किए च्याम्पियन

२१ माघ । काठमाडौं । संयुक्त अरव इमिरेट्स ९यूएई० विरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार स्वेदश फर्किएको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी–२० खेल नेपालले यूएईलाई १४ रनले पराजित गरेको थियो । यससँगै नेपालले टी–२० सिरिजमा २–१ को जित हात पारेको थियो ।

यसअघि नेपालले वान डे सिरिज पनि २–१ ले नै जितेको थियो ।नेपालले वानडे र टी–२० दुवै खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरिजमाथि कब्जा जमाएको हो ।

नेपालले सिरिजसँगै व्यक्तिगत उपाधिमा पनि बर्चस्व जमायो । वान डेमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज भए । टी–२० मा युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज चुनिए ।

वान डेअन्तर्गत दोस्रो खेलमा सोमपाल कामी म्यान अफ द म्याच बनेका थिए । टी–२० मै उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । टी–२० को अन्तिम खेलमा करण केसी म्यान अफ द म्याच भएका थिए ।

टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।

बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती चार खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग ९बीपीएल० खेल्न बंगलादेश आएका थिए । सन्दीपले बिग बासका चार खेलमा आठ विकेट लिएका थिए ।

त्यसपछि सन्दीप यूएईविरुद्ध खेल्न नेपाली टिममा समावेश भएका थिए ।