Swornakshar Logo

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा

१६ माघ । काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपु्र महानगरपालिका १६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेनले सो घोषणा गरेको हो । जसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेकी हुन् । २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । करिब ३ अर्ब लागतमा चितवनमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो ।

प्रधानमन्त्रीदेखि धुर्मुससम्मको उद्घोष
गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख धुर्मुसले बताएका छन् । उनले भने, ‘अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । शिलान्यासकै दिन निर्माण अवधि तोकिने छ । हामी २ वर्षभित्र रंगशाला निर्माण गरिसक्ने लक्ष्यमा छौं । सम्पूर्ण नेपालीहरुको सहयोगमा यो कार्यसम्भव हुने विश्वास पनि लिएको छु ।’

उनले भने हामीले निर्माण गर्न लागेको रंगशाला एकदमै मौलिक खालको हुने छ । हामी आफ्नो देशको मौलिकतासहितको रंगशाल निर्माण गरेर विश्वलाई उदाहरण दिन चाहन्छौँ ।’

उनले देशमा विकास निमार्णका कार्यमा ढिलासुस्ती हुने गरेको भन्दै आफुहरु रंगशाला शिलान्यासकै दिन समय तोकेर निर्माण कार्यमा लाग्ने पनि बताए । उनले आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको उद्घााटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारी भइरहेको बताइन् । मेयर दाहालले भनिन, ‘भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । त्यसैले उनीहरु एक अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खण्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

त्यसका लागि आवश्यक पहलसमेत थालेको उनको भनाई छ । उनले रंगशाला निर्माणका लागि महानगर दत्तचित्त भएर लाग्ने उद्घोष गरिन् । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले रंगशाला निर्माणका लागि आफू र आफ्नो पार्टीजस्तो सुकै सहयोग गर्नपछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि रंगशाला निर्माणका लागि आफ्नो ठाउँबाट पूर्णरुपमा सहयोग गर्नु प्रतिबद्धता व्यक्त गरे ।

साथै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस पवित्र र राम्रो कामको लागि आफू सँधै तत्पर रहेको बताए । उनले यो राष्ट्रिय गौरवको आयोजनाको भएको भन्दै यसका लागि आफ्नो तर्फबाट सबै खाले सहयोग हुन जिकिर गरे ।

प्रधानमन्त्री ओलीले ‘जमिन, काम र स्थान तय भइसक्यो, र कस्तो बनाउने भन्ने नक्साङ्कन पुरा भइसक्यो । त्यसका लागि लगभग ४ करोड यही उठ्यो । अझै २९६ करोड बाँकी छ । यसकारण मेरो सुझाव छ । लेख्ने कुरामा अझ बढी जाँगर चलाउँ । लेखेको रकम भुक्तानी गर्न बिलम्ब नगरौं । बिलम्ब नहोस् ।’

रंगशालाको डिजाइन र सुविधा

पूरै रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । रंगशालामा नेपालका धार्मिक सम्पदाहरुको अवलोकन गर्दै प्रवेश गर्न मिल्ने गरी गेटहरु बनाइने छन् ।

यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेलिने सहमतिपत्रमा उल्लेख छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । रंगशाला निर्माणका लागि आर्थिक व्यवस्थापनका लागि लेखा समिति संयोजक तोकिएको छ भने ३ जना ईन्जिनियर रहनेछन् ।

कार्यक्रमै ४ कारोड रकम संकलन
अन्तर्राष्ट्रिय रंगशालाको घोषणा कार्यक्रममै करिब ४ करोड भन्दाबढी रकम संकलन भइसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कार्यक्रममा सो रकम जुटेको हो । जसमा एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । साथमा अन्य संघसंस्था र व्यक्तिले समेत लाखौं रकमको सहयोगको प्रतिबद्धता गरेका छन् ।

जसमा अल्का अस्पतालले २५ लाख, चितवन उद्योग वाणिज्य संघ ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख, मुक्तिनाथ विकास बैंकले ५ लाख, मह सञ्चार र भद्रगोल टिमले १–१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

व्यक्तिगत रुपमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनी १ लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले १ लाख १० हजार, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १, १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । साथै विभिन्न उद्योमी व्यवसायी, कलाकारलगायतले पनि रकम सहयोग गर्ने घोषणा गरेका छन् ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।