Swornakshar Logo

युएस–बंगला विमान दुर्घटना प्रतिवेदन सार्वजनिकः मुख्य दोषी पाइलट

१३ माघ । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको युएस– बंगला एयरलाइन्स विमान दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १ सय दिनपछि आज प्रतिवेदन सार्वजनिक गरेको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई गत भदौमा प्रतिवेदन बुझाइएको थियो ।

दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष यज्ञ गौतमसहितको टोलीले उक्त प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन बुझाएको ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सय दिन पूरा हुँदा समेत सार्वजनिक भएको थिएन । प्रतिवेदनमा मुख्य दोषी पाइलट नै रहेको ठहर गरिएको छ ।
प्रतिवेदनमा क्याप्टेन अविद सुल्तान मानसिक तनावमा रहेको पाइएको उल्लेख छ । प्रतिवेदन अनुसार क्याप्टेन पाइलट ‘इमोसनली डिस्टर्ब्ड’ रहेको उल्लेख छ ।

आयोगले ‘फ्लाइट डाटा रेकर्ड’ (एफडिआर) र ककपिट भ्वाइस रेकर्ड (सिभिआर) को अध्ययनपछि पाइलट नै मुख्य दोषी रहेको निष्कर्ष निकालेको हो । पाइलटले आफ्ना कुनै पुराना प्रेमिकाको कुरा को–पाइलटसँग गरेर समय–समयमा चिच्याएको समेत रेकर्डमा पाइएको छ ।

पाइलटले ककपिटभित्रै पटक–पटक चुरोट पिएको प्रतिवेदनमा उल्लेख छ । तर युएस–बंगला एयरलाइन्सले पाइलटले चुरोटै नखाने गरेको भन्दै बचाऊ गरेको छ ।

अध्ययनको क्रममा क्याप्टेन सुल्तान युएस–बंगला एयरलाइन्सकै कुनै को–पाइटलसंग प्रेममा रहेको र सोही बंगलादेशको ढाकाबाट काठमाडौं उड्ने क्रममै झगडा परेको समेत देखिएको थियो ।

एकदमै तनावका बीच क्याप्टेन काठमाडौ छिरेपछि गुराँस प्वाइन्टबाट जिरो टु मा ल्यान्ड गर्न आउनुपर्नेमा गुराँस प्वाइन्टबाट अन्यत्र लागेको पाइएको छ । उडान नम्बर युवीजी २११ नम्बर जहाज दुर्घटनामा चलाक दलका ४ जना सदस्य सहित ५१ जनाको मृत्यु भएको थियो ।
बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो ।

पाइलट सुल्तानले टु जिरो बाट जहाज अतवरण गर्नेक्रममा पाइलटले मिस अप्रोच लिएपछि जहाज दुर्घटना भएको थियो । पटक÷पटक जहाज फन्को मारेपछि विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलरको समेत केही कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विमानस्थलको जिम्मेवारीमा रहेका कन्ट्रोलरले जहाजलाई दक्षिणको जिरो टु बाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले टु जिरोतिरबाट ल्याण्ड गर्छु भन्दै उत्तरतिर लागेका थिए । छानविनले जहाजमा कुनै समस्या देखाएको छैन ।

पाइलट दक्षिणको सट्टा उत्तरतिर लाग्दा जहाजमा केही समस्या छ कि भनी कन्ट्रोलरले सोधेको थियो । तर, उनले ‘आई एम ओके’ भन्ने जवाफ दिएको विमानस्थलका अधिकारीहरूले दुर्घटना भएकै दिन सार्वजनिक गरेका थिए ।

ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ नमिलेको कन्ट्रोलरले थाहा पाइसकेका थिए । त्यति थाहा पाएपछि जहाज डाइभर्ट गराउनु उपयुक्त हुनेमा अवतरणको अनुमति कन्ट्रोलरले दिनु गल्ती भएको एक आयोगका सदस्यको भनाइ छ ।
कन्ट्रोलरले ल्याण्ड गर्ने बेला पाइलटको रेस्पोन्स नआएको र त्यसपछि जहाज रन वेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रन वेबाट दाहिनेतिर (आर्मीको ह्याङ्गरतर्फ) टावरको छेउबाटै आएको थियो ।

पाइलटको १९९२ को मेडिकल रिपोर्टमा मानसिक विरामी

आयोगको छानबिनले क्याप्टेन सुल्तान सन् १९९२ मा गरिएको एक मेडिकल परीक्षणमा मानसिक रोगी रहेको समेत पत्ता लागेको छ । ‘केही वर्ष विरामी भएरपछि निको भएको देखिन्छ,’ ती सदस्यले भने । पाइलट ‘मेडिकल्ली फिट’ थिए कि थिएनन् भन्ने चाहिँ प्रतिवेदनमा उल्लेख छैन ।

क्याप्टेनले टु जिरो बाट जहाज ल्यान्ड गर्दा रनवेमै गरेको भए पनि त्यसलगत्तै रनवे छाडेको थियो । रनवेको बाहिरपट्टि ५० मिटर पर रहेको खाल्डोमा परेपछि आगो लागेको थियो ।