मुसहर तथा दलितको घरमै गएर पढाउँछन् पूर्वमन्त्रीले ट्युसन
१२ माघ । काठमाडौँ । बिहान ४ बजे उठेर फ्रेस हुने, केही अध्ययन गर्ने अनि एक कप कालो चिया खाएर राजविराजबाट ५ः४५ मा घरबाट एक घण्टा हिँडेर मुसहर तथा दलितको बस्तीमा पुग्छन् ।
त्यहाँ पुगेर ७ बजेदेखि ८ः३० बजेसम्म विद्यार्थीलाई टुयुसन पढाएर १० बजे पुनः उनी आफ्नो घर फर्कन्छन् ।
यसरी पूर्वसिंचाइ मन्त्री उमेश यादवको दैनिकी बित्दैछन् । अहिले उनी मन्त्री पनि छैनन्, सांसद पनि छैनन् र पार्टीमा अहिले कुनै जिम्मेवारी पनि दिइएको छैन । यद्यपि उनले सप्तरी राजविराज–९ को गढिया गाउँका मुसहर तथ दलित बालबालिकालाई पढाउनका लागि दैनिक डेढ घण्टा समय छुट्याएका छन् ।
राजविराजबाट तीन किलोमिटर दूरीमा रहेको गढियामा उनले दुई ठाउँमा मुसहर तथा दलित बालबालिकालाई निःशुल्क ट्युसन बढाइरहेका छन् । एक ठाउँमा उनी आफै पढाउँछन् भने अर्को एक ठाउँमा एकजना स्थानीयलाई जिम्मेवारी दिएका छन् ।
अहिले यो ट्युसन फुर्सद भएर पढाएको भने होइन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका पूर्वमन्त्री यादव भन्छन्, ‘म अहिले कुनै सार्वजनिक पदमा छैन । त्यसले गर्दा फुर्सदको सदुपयोग गरेको होइन । यदि फुर्सदमा भएको भए खेती किसानदेखि अन्य काम पनि गर्न सक्थेँ तर म मुसहर तथा दलित बालबालिकालाई निःशुल्क पढाइरहेको छु र त्यसमा मेरो एउटै स्वार्थ छ । मुसहर तथा दलितका बालबच्चा पनि पढून् ।’
उनी ट्युसन पढाउने गरेको ठाउँबाट विद्यालयको दूरी आधा घण्टाको छ तर मुसहर तथा दलित बस्तीका बालबालिकाहरू विद्यालय जाँदैनथे । ती बालबालिकामध्ये उनले पढाइका लागि अभिभावकत्व ग्रहण गरेको विद्यार्थी पनि रहेको छ ।
त्यो थाह पाएर उनी आफूले अभिभावकत्व ग्रहण गरेको बच्चालाई पढाउनका लागि त्यहाँ जाँदा त्यो टोलभरीकै बच्चाहरू स्कुल जाँदैनथे । उनीहरू दुव्र्यसनी तथा कुलतमा फस्दै गइरहेको थियो । ससाना बच्चा खेलेर समय काट्ने युवाहरू दुव्र्यसनीतिर गइरहेको आफूले पाएको उनले बताए ।
उनले पढाउने ठाउँमा मुसहर, डोम, चमार, खत्वे समुदायका बालबालिकाहरू ट्युसन पढ्न आउँछन् ।
उनी सुरुमा एक ठाउँमा पुसबाट पढाउन सुरु गरेका थिए । त्यहाँ मुसहरका बालबच्चा मात्र छन् । केही दिन पढाउन थालेपछि विद्यार्थीको चाप बढ्दै गयो । १० जना विद्यार्थीबाट सुरु गरेका ट्युसनमा विस्तारै ४० जनासम्मको विद्यार्थी पुग्यो । विद्यार्थीहरू अझै आइरहेका थिए ।
जुन अभिभावकले आफ्ना बच्चालाई स्कुल पठाउँदैनथे । उसले पनि आआफ्ना बालबच्चालाई ट्युसन पढाउने ठाउँमा ल्याएर छाड्न थाले । विद्यार्थीको चाप बढ्न थालेपछि पूर्वमन्त्री यादवले बाध्य भएर अर्को ठाउँमा ट्युसन सुरु गरे । माघ २ गतेबाट ४० जना विद्यार्थीबाट सुरु गरेको ट्युसनमा अहिले ६० जना पुगेका छन् । सबैलाई उनले एक्लै पढाउन नसकेपछि प्रत्येक दिन कसैलाई न कसैलाई आफ्नो साथमा सहयोगीका रूपमा त्यहाँ लग्छन् र उनको सहयोगमा सबैलाई पढाउँछन् ।
उनी त्यहाँ किताबको ज्ञान दिँदैनन्, व्यावहारिक ज्ञान पनि दिन्छन् । सफासुग्धर कसरी रहने, किन पढ्नु पर्यो, स्कुल किन जानु पर्यो, आमाबुबाको कुरा, शिक्षा तथा आफूभन्दा ठूलाको कुरा कसरी मान्ने जस्ता व्यावहारिक कुराहरू पनि उनले सिकाउँछन् ।
सुरुको ट्युसनमा कृष्णनन्द सदायलाई जिम्मेवारी दिएका छन् । सदाय त्यहाँका स्थानीय विद्यार्थी हुन् । स्वयंसेवक जस्तै उनले सहयोग गरिरहेका छन् । यद्यपि मन्त्रीले उनलाई महिनाको दुई हजार रुपियाँ सहयोग स्वरूप दिने गरेका छन् ।
पूर्वमन्त्री यादवले भन्छन्, मैले कृष्णचन्दलाई तलबमा राखेको होइन, स्वयंसेवक जस्तै हो उनी पनि । तर विद्यार्थी भएको कारणले केही सहयोग होस् भनेर मात्र मैले केही दिएको हुँ ।’
विद्यार्थीलाई कापी, कलमलगायत चाहिने सामग्रीसमेत दिन्छन् उनी । फ्रिमा ट्युसन पढ्न पाएपछि विद्यार्थीहरू नियमित आउने गरेका छन् । विद्यार्थीहरू ट्युसनमा मात्र होइन, विद्यालय पनि नियमित जान थालेका छन् ।
पूर्वमन्त्री यादव भन्छन्, एक हप्तामै चामत्कारिक परिवर्तन भएको मैले पाएको छु । विद्यार्थीहरू सरसफाइमा ध्यान दिनुको साथै हातमुख धुने, दिसा गरेपछि साबुन पानीले हात धुने, सधैँ नुहाउने, टाइममा स्कुल जाने जस्ता काममा निकै सुधार भएको छ । अभिभावकहरूमा चेतनाको विकास भएको छ । बालबच्चालाई पढाउनुपर्छ भन्ने सोच आएको छ । आफै आआफ्ना बालबच्चालाई स्कूल पठाउन थालेका छन् ।’
६–७ कक्षामा पढ्ने विद्यार्थीलाई क, ख, ए, बी, सी, डी पनि आउँदैनन् । एकदेखि सयसम्म गन्न पनि आउँदैन । उनले भने, विद्यार्थीको जस्तो हालत छ, विद्यालयको त्यस्तै हालत छ । यो ट्युसनबाट त्यसमा पनि केही सुधार हुने अपेक्षा मैले लिएको छु ।’
पाटन क्याम्पसबाट बीएस्सीसम्म अध्ययन गरेका पूर्वमन्त्री यादव शिक्षामा सुधारका लागि गरेको प्रयास यो पहिलो होइन । २०७० मा संविधानसभा सदस्य हुँदा राजविराजको ४५ ठाउँमा यस्तो ट्युसन सुरु गराएका थिए । कतिपय ठाउँमा उनी आफै पढाउँथे भने अधिकांश ठाउँमा सहयोगीहरू स्वयंसेवकको रूपमा राखेका थिए ।
तर त्यसलाई उनले निरन्तरता दिन सकेनन् । सांसद त्यसपछि मन्त्री भएपछि व्यस्तता बढ्यो । उतातिर उनले समय दिन सकेन । स्वयंसेवकहरूले पनि विस्तारै विस्तारै छाडे ।
तर मन्त्रीबाट हट्नेवित्तिकै उनले फेरि त्यही अभियान सुरु गरे । उनी ससाना बालबालिकालाई पढाउन छाडेर एसएलसी नजिक भएको कारण १० कक्षाका विद्यार्थीहरूका लागि उनले निःशुल्क कोचिङको व्यवस्था गरे । सम्बन्धित विषयमा शिक्षक राखेर विद्यार्थीहरूलाई उनले कोचिङ बढाउन सुरु गरेका थिए ।
कोचिङ पढाउन सुरु गरेपछि विगतको भन्दा त्यतिबेला त्यहाँको स्कुलमा राम्रो रिजल्ट आएको उनको दाबी छ ।
उनी यो ट्युसनलाई निरन्तरता दिने पक्षमा छन् । तर कसरी त्यसको बारेमा योजना बनाएर अघि बढ्ने बताए । त्यति मात्र होइन, उनी सांसदबाट हटेपछि राजविराजको रन्जितपुरमा दलित विद्यार्थीका लागि छात्रवास बनाउन सुरु गरे । ५० लाखको लगानी भइसकेको छ तर अझै पूर्ण भएको छैन ।’ अझै ५० लाख लगाउने अवस्था छ तर पूर्वमन्त्री यादव भन्छन्, ‘मैले त सुरुवात गरिसकेँ । यसलाई कसैले पूर्णता दिन्छ भने आशमा बसेको छु ।’
शिक्षामा चासो लिनुको कुनै राजनीतिक स्वार्थ त छैन भन्ने जिज्ञासामा उनले भने, ‘म जहाँ पढाउँछु त्यहाँ अहिलेसम्म आफ्नो बारेमा कुनै जानकारी दिएको छैन । कतिपय अभिभावकलाई त थाह होला तर विद्यार्थीलाई थाह छैन । आजसम्म मैले न विद्यार्थीसमक्ष राजनीतिको कुरा गरेको छु, न अभिभावक समक्ष नै ।’
प्रतिनिधिसभा चुनावमा उनी उपेन्द्र यादवसँग तत्कालीन माओवादी केन्द्रको तर्फबाट चुनाव लडेका थिए । तर उनी पराजित भए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि हालसम्मको समायोजनमा उनी कतै परेका छैनन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य थिए उनी । तर समायोजनमा उनी हालसम्म कतै परेको छैनन् । यद्यपि तल्लो तहको समायोजन हुन अझै बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्: