Swornakshar Logo

प्रचण्डको प्रस्तावः पार्टीभित्रका गुट विघटन गरौं

११ पुस । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका गुटहरूको विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकतापछिको परिस्थितिमा पनि हिजोकै मूल्यमान्यता र दृष्टिकोणबाट पार्टी चलाउन नहुने बताउँदै पुराना गुट, विचार समूहका नाममा हुने गतिविधिले जरा टेकिनसकेकोले पार्टी कमजोर हुने निष्कर्ष निकालेका हुन् ।
“एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनिसकेको छ । हिजोकै गुट, विचार र अलगअलग पार्टीका मूल्य र आँखामा नेकपाको आन्दोलनलाई बुझ्नु हुँदैन,” उनको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने ।

त्यस्तै, उनले जारी स्थायी कमिटी बैठक आफूलाई स्कुल भएको बताउँदै सबै स्थायी कमिटी सदस्यको मनभित्र पस्न पाएको र विचार र भावनाको गहिराइमा पुग्न पाएको विचार व्यक्त गरेका थिए ।

पार्टी एकता गर्दा धम्की आयो

पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल बुधबारको बैठकमा निकै लचिलो ढंगले प्रस्तुत भएका थिए । अन्तर्राष्ट्रिय, राष्ट्रि परिस्थितिको वस्तुगत विश्लेषण गर्दै पार्टी एकता भएको बताउँदै पार्टी एकता नेतृत्वको मनोगत आग्रहका रूपमा मात्रै बुझ्नु नहुनेमा उनको जोड थियो ।

“दुई पार्टी एकता गर्ने तयारी थाल्दा विभिन्न पदीय प्रलोभन देखाइयो, त्यो प्रलोभनमा नफस्ने चाल पाएपछि धम्क्याउन थालियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने ।

निकै पेचिलो अवस्थामा सरकार गठन र पार्टी एकता भएको दृष्टान्त पस्कँदै एकतालाई धरापमा पार्ने, कमजोर तुल्याउने काम पार्टीभित्र र बाहिरबाट भइरहेको भन्दै चिन्तासमेत प्रचण्डले व्यक्त गरे ।

पार्टीले सरकार चलाउने हो
पार्टीमा सरकारका बारेमा उठेका यावत् विषयबारे समेत प्रचण्डले प्रकाश पारेका थिए । सरकार सञ्चालनका अन्तर्राष्ट्यि मान्यता र दृष्टान्त पस्कँदै अध्यक्ष प्रचण्डले सरकारले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे ।

“सरकार र पार्टीलाई अलगअलग गरेर हुेर्नु हुँदैन, द्वन्द्वात्मक रूपमा बुझ्नुपर्छ । पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, सरकारले पनि पार्टीबाट सहयोग, मद्दत लिनुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ योगेश भट्टराईले उद्धृत गरे ।

उनले सरकार र पार्टी सञ्चालनमा कतिपय कमजोरी भएको स्वीकार गर्दै यसको मिलेर समाधान गर्नुको विकल्प नरहेको बताएका थिए ।
“कतिपय कमजोरी र त्रुटि भएका छन्,” उनले बैठकमा भने, “तथापि हामीसँग सच्चिनुको विकल्प छैन, हामी सच्चिन्छौँ ।”

त्यस्तै उनले पार्टीभित्र व्यक्तिवाद हावी भएको सदस्यहरूको टिप्पणी स्वीकार्दै पार्टीमा सामूहिक नेतृत्वसीप, निर्णयसीप र व्यक्तिगत उत्तरदायित्वको भावना विकास गर्नुको विकल्प नरहेको जिकिर गरे ।

त्यस्तै उनले सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि दिएका सुझाव, टिप्पणी समेटेर राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्नुपर्ने, स्थायी कमिटी सदस्यहरूबाट आएका सुझावलाई हार्दिकतापूर्वक ग्रहण गर्दै त्यसलाई पार्टीको सम्पत्ति बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यदल बनाएर समस्या समाधान गरौँ
बिहान ८ः३० बजेदेखि १०ः३० झन्डै दुई घन्टा बोलेका अध्यक्ष प्रचण्डले सदस्यहरूको मनोभावनाको सम्बोधन गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
“अध्यक्ष प्रचण्डको सम्बोधनले धेरै कुराको सम्बोधन गरेको छ,” अर्का अध्यक्ष केपी ओलीको कार्यशैली विरुद्ध निर्मम रुपमा खनिँदै आएका खनालले भने, “पार्टी र सरकार सञ्चालनका क्रममा उठेका धेरै कुराको सम्बोधन भएको छ ।”

त्यस्तै खनालले सरकार र पार्टी सञ्चालनको क्रममा उठेका प्रश्नको निरुपण, राजनीतिक प्रतिवेदनका बारेमा सदस्यहरूले दिएका सुझाव र टिप्पणी समेटेर पार्टी र सरकारको कामलाई गति दिन प्रचण्डले कार्यदल गठनको प्रस्ताव गरेको बताए ।

“अहिले देखिएका सबै समस्या समाधान गर्न कार्यदल गठन गर्ने उहाँ ९पुष्पकमल दाहाल०को प्रस्ताव छ,” खनालले भने ।
राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएको प्रश्नको जवाफ अर्का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिनेछन् ।

बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ । सम्भवतः बिहीबार अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि बैठकले कार्यदल गठन गर्ने स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।

“अध्यक्षद्वयको मनशाय बिहीबार नै बैठक टुंग्याउने भन्ने छ । कार्यदल नबनाई यत्राविधि समस्याका समाधान स्थायी कमिटीको बैठकले मात्रै गर्न सक्दैन,” गुरूङ बताउँछन् ।