Swornakshar Logo

नेकपाले बोलायो स्थायी कमिटी बैठक

२२ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक मंसिर २९ गते दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
आज दिउसो सचिवालय बैठक ढीलो बसालेको भन्दै चार जना नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको बहिस्कार गरेका थिए । यसै बीच नेकपामा सचिवालय बालुवाटमा बसेको थियो ।

बालुवाटारमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको पौडेलले जानकारी दिए ।

बहिस्कार प्रकरण के हो ?

नेकपाले शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बोलाएको थियो ।

बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल समयमा उपस्थित नभएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।

आधा घन्टा कुरेपछि पनि बैठक हुनेनहुने सूचना नपाएपछि अपमानित महसुस हुँदै फर्किएको नेताहरूले बाहिर निस्किएर जानकारी दिएका थिए ।

पार्टी अध्यक्षको समय व्यवस्थापनसँग शीर्ष नेताहरू रुष्ट थिए । कार्यक्रममा ढिला आउने, पट्यारलाग्दो भाषण गर्ने । समय खेर फाल्ने शैलीबारे नेता खनाल, नेपाल र श्रेष्ठले शुरूदेखि नै विमति राख्दै आएका थिए ।

श्रेष्ठले केहीसमयअघि शीर्ष नेताले समयको पालना नगरेको भन्दै केपी ओलीकै अघिल्तिर आक्रोश पोखेका थिए । तर, जति गरे पनि सुध्रने छाँट नदेखाएपछि सचिवालय सदस्य रूष्ट बनेको स्रोतको दाबी छ ।

भएको के हो ?

नेकपाको पूर्व सांसद् मणि खुम्बु क्यान्ससँग मुकाबिला गरिरहेकी छन् । उदयपुर घर भएकी पूर्व सांसद अन्तिम अवस्थामा पुगेको भन्दै अध्यक्षद्वयले नै भेट्न खोजेका थिए । समय मिलेको थिएन । अध्यक्ष प्रचण्डले त्यसबारेमा परामर्श गरिरहँदा नेताहरू बाहिरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

“दुई अध्यक्षबीच छलफल हुँदैथियो, उहाँहरू बाहिरिनुभयो, अपमानितका बारेमा पार्टी नेतृत्वले नै बोल्ने कुरा हो,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीसँग भन्यो । नेताहरूको बहिस्कारका बीच बसेको बैठकमा पाँच सचिवालय सदस्य सहभागी थिए । नेकपाको सचिवालय नौ सदस्यीय छ ।