Swornakshar Logo

आइसिसी विश्वकप क्रिकेटको ट्रफी स्वयम्भूमा

९ कात्तिक । काठमाडौं । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० विश्वकप क्रिकेटको ट्रफी शुक्रबार अपराह्न नेपाल ल्याइएको छ। आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी शुक्रबार युएईबाट अपराह्न करिब चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो। ट्रफी नेपाल ल्याए लगत्तै स्वयम्भू पुर्‍याइएको हो। स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राखिएको थियो। ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आएका छन्। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भूपछि, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्‍याइनेछ। ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ। शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ। पोखरा प्रिमियर लिग ९पिपिएल०का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो। आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेको भनाइ छ। विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ। क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ। एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स ९युएइ० हुँदै नेपाल ल्याइएको हो। ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।