Swornakshar Logo

फोहरबाट मोहर कमाउन सकिन्छ

लिला खनाल
फोहर भन्ने वित्तिकै हामी छिःछि र थु थु भनी नाक खुम्च्याउछौ । यो काम नलाग्ने चिज हो भन्ने कुराले पुरै दिमाग ओगट्छ । हरेक राम्रा र नराम्रा कुराको फाइदा र वेफाइदा दुवै हुन्छ भन्ने कुरामा मानिस सचेत हुदैन, किनकी संसारमा कुनै पनि वस्तु नराम्रो भन्ने हुँदैन, त्यति हो त्यसले तपाइँलाई कति फाइदा गर्छ ?

‘नजाने फोहर जाने मोहर ।’ आधुनिकता र शहरीकरण सँगसँगै निम्तिएका नयाँ नयाँ समस्या वा चुनौती मध्येको एउटा हो जताततै फोहर र यसको व्यवस्थापन । फोहर कहीबाट आफै उत्पन्न हुने बस्तु होइन । यो त हामी उपभोक्ताले वस्तु उपभोग गर्दा बाँकी रहेको र फ्याँक्न राखेको वस्तु हो जसको कुनै मूल्य हुँदैन ।

तर हामीले अहहिलेसम्म नबुझेको सत्य कुरो हो ‘मैले बनाएको फोहर मैले नै उचित व्यवस्थापन गर्नुपर्छ’ भन्ने आत्म अनुशासित शोच । यदि हरेक व्यक्तिले यसमा आफ्नो संलग्नतालाई स्वीकार गर्न सक्ने हो भने फोहर फोहर होइन राम्रो आम्दानीको स्रोत हुन सक्दछ ।

शहरी क्षेत्रमा नेतृत्व तहमा रहने नीति निर्माताहरु तथा हरेक घरमा हरेक व्यक्ति जिम्मेवार भइदिने हो भने हाम्रो शहर फोहरले दुर्गन्धित भएर नाक छोपेर हिड्नु पर्ने दिन सायदै आउला । पछिल्लो आँकडा अनुसार पनि काठमाडौं र ललितपुरमा मात्रै दैनिक ५०० देखि ६०० टन फोहर थुप्रन्छ जसमा करीव ७५ प्रतिशत फोहरलाई घरभित्रै व्यवस्थापन गर्न सकिन्छ ।

अहिले हरेक घर र व्यक्ति अलिकति जिम्मेवार नबनिदिदा फोहर व्यवस्थापन गर्न काठमाडौ जस्ता महानगर र देशका अन्य शहरका लागि विकराल समस्याका रुपमा खडा भएको छ । यस्तै अवस्था अब निमार्ण हुने शहरहरुमा नआउन् भन्ने पनि यो लेखको आशय हो । आगामी दिनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो कार्यक्षेत्रका हरेक घर समेटेर फोहरका स्रोतमा नै फोहरलाइ वर्गीकरण गरी फोहर घटाउने, पुन प्रयोग गर्ने र प्रशोधन गर्नेतिर लगाउन सकेमा र फोहर व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको मात्र होइन पहिलो जिम्मेवारी मेरो हो भन्ने प्रतिबद्धता वढाउन जरुरी छ र यसका लागि गरिएको लगानी फोहर व्यवस्थापनको दिगोपनामा महत्वपूर्ण हुनजान्छ ।

हामीले के गर्दैछौ भन्ने कुरा नै हाम्रा सन्ततीले सिक्ने हुन । आज हामीले यी तीन कुरा व्यवहारमा ल्याउन सक्यौ भने भोलीका पिँढीलाई यो भनिरहनु आवश्यक हुदैन जानु बानी भइसक्छ ।

त्यसैले अरुले के गर्छन् भन्दा पनि मैले के गर्दैछु भन्ने कुरा फोहर व्यवस्थापनमा महत्वपूर्ण हुन्छ । हाल फोहर व्यवस्थापनमा काम गरिरहेका संघसंस्थाले पनि फोहर छुट्याउन ल्याउने र सो फोहर छुट्टा छुट्टै संकलन गर्ने व्यवस्था गर्न सकेमा फोहरको मात्रामा कमी त आउछ नै, सो छुटिएको फोहरलाइ बेचेर राम्रै आम्दानी पनि गर्न सकिन्छ ।

हाल फोहरका प्रकार र हामीले प्रयोग गर्ने चिजमा आएको परिवर्तन पनि फोहर बढ्नुको मूख्य कारण हो । जस्तैः पहिले हामी भोजभतेरहरुमा दुना टपरीको प्रयोग गर्दथ्यौ । जुन सजिलै कुहिन्थे हाल प्लाष्टिकका थाल कचौरा तथा प्लेटले प्रतिस्थापन गरेको छ । वातावरणलाई समेत असर गरेको छ । हामीले बच्चालाई दिने चकलेट, कुरकुरे लेज जस्ता खाद्य वस्तुले बच्चाको स्वास्थ्यमा त असर गरेको छ नै, वातावरणमा समेत नराम्रो असर गरेको छ ।

हाम्रा बच्चाहरु स्कूलमा पेन्सील तिखारेको फोहर, कागजका टुक्रा, फोहर फाल्ने टोकरी (म्गकत द्यभबल) राख्छन । यदि टोकरी छैन भने झोलामा बोकेर ल्याउछ । घरमा आएपछि जहाँत्यहिँ फाल्छन् किनकी उसले स्कूलमा सो कुरा सिकेको छ तर घरमा हामीले सिकाएका छैनौ वा स्कूलमा शिक्षक शिक्षिकाले घरमा पनि फोहर जथाभावी फाल्नु हुन्न भन्नु भएको छैन ।

त्यसैले भन्ने गरिन्छ घर नै पहिलो पाठशाला हो । हामीले व्यवहारिक शिक्षा घरबाट नै शुरु गर्नुपर्छ । यो हरेक व्यक्तिको दायित्व हो । यसर्थ कुनै पनि कुरा सानो हुदैन । माइलको यात्रा तय गर्न पहिलो पाइला चाल्नै पर्छ भनेजस्तै एक जना व्यक्तिले घरबाट निस्कने फोहरलाई कुहिँने र नकुहिने गरी छुट्याउँदा यसको व्यवस्थापनमा धेरै फरक पर्न जान्छ । यसबाट राज्यलाई पनि ठूलो फाइदा हुनजान्छ ।

घरबाट निस्कने कुहिने फोहरलाइ विभिन्न विधि प्रयोग गरी मल बनाउन सकिन्छ । त्यसको लागि व्यवहारीक सीप हरेक घरमा पुर्याएर पनि फोहरको मात्रा घटाउन सकिन्छ, जुन ज्यादै महत्वपूर्ण पनि छ । गमला र बाल्टीमा रोपेका तरकारीमा यहि घरमा उत्पादन गरेको मल प्रयोग गर्न सकिन्छ । नकुहिने फोहरलाइ पनि जम्मा गरेर बिक्री गरी आम्दानी गर्न सकिन्छ । आजकाल यस्ता फोहरहरु किनेर लैजाने सघसंस्थाहरु छन । उनीहरुसँग समन्वय गर्न सकिन्छ । कुहिने फोहर बाट मल बनाएर पनि विक्री गर्न सकिन्छ ।

हाल निजी क्षेत्रले फोहर संकलनको काम गरेर दोहोरो फाइदा लिएको कुरा सबैलाइ विदितै छ । हामी फोहर दिएवापत रु ३०० देखि ३५० प्रतिमहिना तिर्छौं । हामीले पठाएको फोहर बेचेर संकलकले दोहोरो फाइदा लिएको हुन्छ । हामीलाई जावो फोहरबाट पनि कति नै मोहर आउछ भन्ने लाग्छ तर सबै स्थानको फोहर एकत्रित गर्दा धेरै स्रोत जुट्न सक्छ भन्ने कुराको उदाहरण हो वालिङ ।

पछिल्ला रिपोर्ट हेर्ने हो भने वालिङले फोहोरमैला व्यवस्थापनमा छलाङ मारेको छ । त्यहाँका नगरप्रमुखले फोहोर गर्नुहोस् भनेको कुरा मिडियामा धेरै आएको छ । उनमा आत्मविश्वास देखिन्छ किनकि यसबाट नगरका लागि मनग्य आम्दानी भएको छ । यो नगर काठमाडौं भन्दा चाँडोे स्मार्ट सिटी बन्ने धुनमा छ ।

अर्को शहर हेटौडामा घरघरबाट कुहिने नकुहिने फोहोर छुटाइन्छ । त्यहि विधिअहिले वालिङले प्रयोग गरेको छ । कुहिने फोहोरबाट मल बनाइन्छ, नकुहिने फोहोरलाई सूक्ष्म रुपमा वर्गीकरण गरी त्यसलाई कवाडीमा बेचिन्छ । नगरप्रमुख दिलीप प्रताप खाँड गर्वसाथ भन्छन् हामीले फोहोर बेचेरै ८० लाखसम्म आम्दानी गरेका छौं । यसर्थ हामी हरेक व्यक्ति यस्ता कुरामा सचेत बन्यौ भने हामी पनि फोहरलाई मोहर बनाउन सक्षम हुनेछौ र विकास हुदै गरेका शहरलाई सफा राख्न योगदान पुर्याउन सक्छौ ।

यसर्थ नेताले गरेनन्, नगरपालिकाले गरेन भन्नु भन्दा पनि मैले के गरे ? भनेर अगाडि बढ्यांै भने यस्ता समस्या आफै समाधान हुदै जान्छन र सभ्य समाजको सिर्जना हुन्छ । बढ्दो प्रदुषणबाट बच्न सकिन्छ । आफु बस्ने गाउँ शहर सफा हुन्छ ।