Swornakshar Logo

राजनीति गृहपृष्ठ प्रचण्डले गरे चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन

३१ भाद्र ।

चीन । चार दिने चीन भ्रमणमा गएका प्रचण्डले आज दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । प्रचण्डले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको पनि अवलोकन गरेका छन् । सोही सन्दर्भमा प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाईएको घरको अवलोकन गरे ।

सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको सामान राखेका छन् । प्रचण्डले आजै येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन गरेका थिए । उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ । त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले दुश्मनको निगरानी गर्ने गर्दथ्यो ।

सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो । त्यसैगरी उक्त स्थानमा चाउ यनलाइ प्रधानमन्त्री भईसकेपछि गाडीमा आउँदा गाडी फँसेपछि जनताले निकालिदिएका थिए । तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन् ।

स्थानीय उपमेयर, पार्टीका नेताहरु र जनमुक्ति सेनाले प्रचण्डको भव्य स्थागत गर्दै अवलोकनमा सहभागी बनेका थिए ।
अवलोकनको क्रममा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरुको संरक्षण गरेर विश्वभरीकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए । उनले अवलोकन गरिएका स्थलहरुका बारेमा पुस्तकमा पढेको, तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुसी लागेको बताए ।

प्रचण्डले भने, ‘नेपालमा बलियो कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ । यो बेला नेपालको बिकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने ‘टे«ड एण्ड ट्रान्जिट’ सम्झौता भएको छ । यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।’
उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्ध कै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताएका थिए ।