Swornakshar Logo

नेपाललाई भारतले कोरोना भ्याक्सिनमा सहयोग गर्ने

काठमाडौं । ११ मंसिर । भारत सरकारले नेपाललाई कोरोना भ्याक्सिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सिंहदरबारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेशसचिव शृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सचिव शृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गरे ।
कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आमरुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन । कोरोना महामारीमा पनि हामीले छोडेनौं ।’

यसैबीच भेटपछि विदेश सचिव शृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुईहजार भाइल रेम्डिसिभिरलगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।