Swornakshar Logo

अब मिल्न सकिदैन पार्टी फुटाऔँः प्रधानमन्त्री ओली

काठमाडौं । १६ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा_का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् ।
आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका छन् ।
‘प्रधानमन्त्रीले सँगै जान नसकिने अवस्था आएको अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंबाट त्यस्तो प्रस्ताव आएपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’

उता प्रधानमन्त्री निकट नेताले ‘प्रधानमन्त्रीले सिधै पार्टी फुटाउने प्रस्ताव नराखेको’ दाबी गरे । प्रधानमन्त्रीको भनाई उध्दृत गर्दैै ती नेताले भने, ‘यदि पार्टी मिल्नै सक्दैन र फुट्नै खोजेको हो भने सल्लाह गरेर फुटाऊ । यसरी घिसिपिटी गर्नुभन्दा पार्टी फुटाउ । भद्रगोल अवस्थामा पार्टी चलाइरहनु हुन्‍न ।’

ओली निकट एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्री पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिएको बताए । उनले भने, ‘दुई नेताबीच पार्टी फूट होइन मिलेर जानुपर्छ भनी प्रधानमन्त्री भनाइ थियो । पार्टीभित्रका समस्या छलफल गरेरै समाधान हुनुपर्छ भन्‍ने प्रधानमन्त्रीको मान्यता छ ।’

पार्टीमा एकाएक यसरी छाल आउनुमा कर्णाली प्रदेशमा अविश्वास प्रस्ताव प्रकारण, मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीकै अविश्वसनीय क्रियाकलाप अघि बढाएपछि झगडा चर्किएको हो । आइतबार दलका उपनेता नेम्वाङ र महासचिव विष्णु पौडेलले अर्का अध्यक्ष दाहालसँग सम्पर्क गरी कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा गलत क्रियाकलाप भएको हुँदा रोक्न आग्रह गरेका थिए ।

यदि मन्त्रिपरिषद् विस्तार भएमा अनर्थ हुने चेतावनी पनि दिएका थिए । उनीहरुको आग्रहपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ । पार्टी नेताहरूबीच गम्भीर कुरा भएपछि दुई पक्ष आआफ्ना रणनीति बनाउन कोठे बैठकहरुमा ब्यस्त छन् ।