Swornakshar Logo

ओलीको सक्रियताले एमाले दर्ता भयोःप्रचण्ड

काठमाडौं । ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी ओलीको सक्रियतामा एमाले दर्ता भएको बताएका छन् ।

नेकपाका स्थापक महासचिव पुष्पलालको स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको सक्रियतामै ‘एमाले’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताएका हुन् ।

उनले भने, ‘एकता संघर्षबाट हासिल हुने हो । चोचोमोचो मिलाएर एकता हुँदैन । संघर्षभन्दा बाहिर एकताको माला जपेर एकता हुँदैन । यसका लागि संघर्ष र रूपान्तरण चाहिन्छ । त्यसपछि नयाँ आधारमा नयाँ एकता हुन्छ ।’

उनले कहिलेकाहीँ एकता संघर्ष र रूपान्तरणबाट विभाजन पनि हुने बताए । उनले भने, ‘एकता संघर्ष र रूपान्तरण हुँदैमा एकता मात्र हुँदैन । कहिलेकाहीँ विभाजन पनि भएका छन् ।’

पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर युगान्तकारी काम गरेको प्रचण्डले बताए । उनले भने, ‘यति महान् काम गर्ने पुष्पलाल पनि २००८ सालमा महासचिवबाट हटाए र १० मा महासचिव हुनबाट रोकिए, यो विडम्बना हो ।’

वि।सं। २०१४ मा पुष्पलालको नीति पास भयो तर रायमाझी नेतृत्वमा आए । उनले भने, ‘आज पनि त्यस्तै भएको हो कि अथवा अहिले पनि २०१४ सालको जस्तो भएको हो ।’