Swornakshar Logo

अयोध्याबारे भारतमै पनि विवाद, ओलीको अभिव्यक्तिमा कसरी आयो ठोरीको प्रसङ्ग
काठमाडौं । ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी आएका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान ले भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’
स्मरणीय छ, दुई वर्षअघि जनकपुरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीका साथ संयुक्त रुपमा जनकपुर–अयोध्या मैत्रीबस उद्घाटन गरेका थिए ।

त्यतिबेला दुवै नेताले ‘रामायण सर्किट’ अघि बढाउने प्रतिवद्धता पनि जनाएका थिए । प्रष्ट छ, त्यतिबेला ओलीले मोदीका साथ उद्घाटन गरेको बस पर्साको ठोरी छेउमा रहेको अयोध्या ९सोमबार प्रधानमन्त्रीले भनेको०का लागि थिएन । त्यो बस जनकपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्याका लागि थियो । दुई वर्षमै ओलीले राम जन्मभूमिबारे यति फरक अभिव्यक्ति किन दिए भन्नेबारे प्रश्न उठ्नु स्वाभाविक हो ।

कसरी आयो ठोरीको प्रसङ्ग र ?
पर्साको ठोरी बेलाबखत भारतसँग सीमा विवाद भइरहने क्षेत्र हो । लेखक लोकमणि पौडेलले करिब साढे तीन वर्ष अघिदेखि रामको जन्मभूमिका बारेमा भारतमा भएको विवादबारे सोधखोज गरेका छन् ।

पौडेलले भने, म भारतको अयोध्या पनि पुगेँ,’ ‘त्यहाँका बुद्धिजिवीलगायतसँग अयोध्याको इतिहासका बारेमा बुझेँ, सुरुदेखि त्यो ठाउँको नाम अयोध्या नै होइन रहेछ ।’

रामको जन्मभूमि नै त्यही हो भने त्यो ठाउँलाई सुरुदेखि नै अयोध्या भनेर किन भनिएन भन्ने प्रश्न मनमा उठिरहेको उनले सुनाए । ‘सीता जन्मेको ठाउँलाई आजसम्म जनकपुर भनिन्छ, राम जन्मिएको वास्तविक ठाउँ नै त्यही हो भने त्यो ठाउँको नाम पहिलादेखि नै अयोध्या किन भएन रु पछिमात्र किन त्यसलाई अयोध्या भन्न थालियो भनेर जिज्ञासा जाग्यो ।’

त्यसपछि आफूले रामायणसँग जोडिएका विभिन्न ठाउँमा पुगेर अध्ययन गरेको, रामायणका प्रसंगहरुलाई नेपालका पौराणिक स्थानहरुसँग तुलना गरेको र एउटा निष्कर्ष निकालेको उनको भनाइ छ ।

‘रामायणमा भनिएको अयोध्या भारतमा नभएर हाम्रै पर्साको ठोरीमा रहेको निष्कर्षमा म पुगेँ,’ उनले भने, ‘त्यो ठाउँमा गएर पनि मैले अध्ययन, अनुसन्धान गरेँ । मेरो निष्कर्ष त्यही हो, यसमा केन्द्रित रहेर अध्ययन अनुसन्धान होस् भनेर मैले सानो लेख पनि लेखेँ ।’

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रामको जन्म भएको भनेर अभिव्यक्ति दिँदा आफ्नो लगनशीलता र मेहनतले केही हदसम्म सफलता पाएको अनुभूति भएको उनले सुनाए । ‘यही नै सत्य हो भनेर मैले दावी गरेको होइन,’ उनले भने, ‘तर अयोध्या ठोरीमा पनि हुन सक्छ, विभिन्न सन्दर्भ र रामायणका कथावस्तुले रामको जन्म भएको अयोध्या जनकपुरबाट त्यति टाढा होइन भन्ने नै देखिन्छ, यसमा थप अध्ययन हुनुपर्छ भन्ने मेरो आशय हो ।’

उनले १०–१२ दिन अघि आफूलाई राम जन्मभूमि अयोध्याबारे अध्ययन अनुसन्धान अघि बढाउन एउटा समिति बनाउन प्रस्ताव गरिएको पनि उनले बताए । ‘तर प्रधानमन्त्रीले नै रामको जन्भूमिबारे यसरी अभिव्यक्ति दिनुहुन्छ भनेर मलाई थाहा थिएन, मसँग यसबारे थप कसैले सोधखोज गरेको पनि थिएन,’ रातोपाटीसँग उनले भने ।

अयोध्याबारे भारतमै विवाद
राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विरोध छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो ।
अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा विवादास्पद भूमिको स्वामित्व विवाद सुल्झाएको भारतकै विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्ष नोभेम्बरमा बीबीसी हिन्दीले प्रकाशित गरेको एक रिपोर्टअनुसार अयोध्या विवादमा सर्वोच्च अदालतले आफ्नो फैसलामा एक खास रिपोर्टलाई उल्लेख गरेको छ, जसमा बाबरी मस्जिदको तल कुनै हिन्दू मन्दिर थिएन भनिएको छ ।

प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मार डिएन झाले ऐतिहासिक पुरातात्विक प्रमाणको अध्ययन, अनुसन्धान गरेर आफ्नो रिपोर्ट तयार पारेका थिए, जसमा बाबरी मस्जिदको तल हिन्दू मन्दिर छ भन्ने दावीलाई खारेज गरिएको थियो ।

भारतको सर्वोच्च अदालतले उक्त भूमिको विवादबारे फैसला सुनाएपछि भारतका चर्चित इतिहासकार प्रोफेसर डिएन झाले प्रतिक्रिया दिँदै ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएको’ बताएका थिए । ‘दोषपूर्ण पुरातत्व विज्ञानलाई फैसलाको आधार बनाइएको छ,’ अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए ।

भारतीय पुरातत्व सर्वेक्षणले समेत सन्देहास्पद भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘विध्वंस अघि हामीलाई प्राचीन वस्तुको जाँचका लागि त्यहाँ लगिएको बेला एउटा ट्रेन्चको साइट नोटबुक नै दिइएन, त्यसमा निकै महत्वपूर्ण प्रमाण थिए,’ भारतीय पुरातत्व सर्वेक्षणको भूमिकामा प्रश्न गर्दै उनले भने, ‘प्रष्ट रुपमा भन्नुपर्दा यो प्रमाणहरु दबाउने प्रयास थियो ।’

बाबरी मस्जिद विध्वंशपछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही मानसिकताका साथ काम गरेको उनको आरोप छ । ‘उनीहरुले ती प्रमाणलाई दबाए, जसले मन्दिरको थ्यौरीलाई काट्दथे, तर कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक मूल्य, मान्यतालाई हेरियोस् भन्ने हुन्छ, अयोध्याको मामिलामा त्यो भएन ।’ रातोपाटी