Swornakshar Logo

ओली र प्रचण्ड पक्षधरबीच कैलालीमा झडप

स्थिति समाल्न प्रहरीलाई हम्मेहम्मे

काठमाडौं । २२ असार । कैलालीमा सत्तारुढ दलन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकर्ताहरुबीच आपसमा झडप भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ ।

ओली पक्षधरहरूले आज दिउँसो करिब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गर्दै र्‍यालीसहित कोणसभा गरेका थिए । सभामा प्रचण्डलाई बकमफुसे कुरा गरेको भनेपछि झडप भएको थियो । प्रचण्डलाई बकमफुसे भनेपछि प्रचण्ड पक्षधरहरू कार्यकर्तापनि झडपमा उत्रेका थिए । कोण सभा तनावग्रस्त भएपछि प्रहरीले हस्तक्षेप गरेका थिए ।
सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा ओलीको फोटो सहित उनका पक्षधर २० जनाजति कार्यकर्ताहरु नेपालको नयाँ नक्सा राखेर २ दर्जन बढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शनसमेत गरेका थिए ।  

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्रमाथि, राष्ट्रिय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गरलगायतका  नारासमेत लेखेका प्ले कार्डसहित ओली पक्षधर युवाहरूको सहभागिता थियो ।

ओली पक्षका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै गरेको भाषणलगत्तै बोल्न माइक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएका थिए ।

दुईतिहाइको सरकारलाई आफ्नै साथीहरूले ढलाउन खोजेको भन्दै आक्रोश पोखिरहेका बेला प्रचण्डनिकटका केही युवाहरू खड्कामाथि खनिएका थिए । ओली पक्षधरहरूले आफूहरूमाथि प्रचण्डका पूर्वलडाकूहरूले नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएका छन् ।

माहौल साम्य पार्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । पछिल्लो समयमा नेकपाभित्र सत्ता र कुर्सीका लागि विवाद चुलिँदै गएको छ भने पार्टीसमेत फुटको अवस्थामा पुगेको छ ।