Swornakshar Logo

समाजवादी पार्टीमा बने तीन अध्यक्ष

काठमाडौं । २५ जेठ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि समय घर्किन लाग्दा वरियताका आधारमा विवाद मिलाएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादीले एकता घोषणा गरेको डेढ महिनासम्म पनि वरियता नमिल्दा दल दर्ता हुन सकेको छैन । वैशाख १० गते एकीकरणको घोषणा गरेको पार्टीले वरियता विवाद आइतबार मिलाएको हो ।
नेता लक्ष्मणलाल कर्णले भने, तीन जनालाई अध्यक्ष बनाएका छौँ’, अहिले निर्णयको ड्राफ हुँदैछ ।’ महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको हो । पार्टी संसदीय दलको नेताको जिम्मेवारी भने राजेन्द्र महतोलाई दिने सहमति भएको छ ।

उनले भने, समाजवादी पार्टीले आजै दल दर्ताको तयारी गरेको छ । वरियता विवाद टुंगो लगाएर दल दर्ताको तयारीमा छौँ’,अहिले अन्तिम निर्णयलाई आधिकारिकता दिने काम भइराखेको छ । हामी निर्णय केही समयमै सार्वजनिक गर्छौँ ।’

आयोगमा दल दर्ताको समय सकिन लाग्दा दुई दिन लामो छलफलपछि समाजवादीले वरियता विवाद मिलेको हो । बैठकले ५३ सदस्यीय कार्यकारी समिति अध्यक्षको जिम्मेवारी तीन नेतालाई दिएको हो । अध्यक्षलाई समान अधिकारसहित राख्नेसहमतिसमेत भएको छ । नेता अशोक राईलाई वरिष्ठ नेता बनाइएको छ ।

कार्यकारी समितिमा भने राजपाको तर्फबाट २७ र समाजवादीको तर्फबाट २६ जना रहने सहमति पनि भएको छ ।