Swornakshar Logo

कोरोना संक्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, ‘एक हप्ता भयो घर नगएको’

कृष्ण गिरी

काठमाडौं । ३ वैशाख । ३१ डिसेम्बर २०१९ बाट चीनको हुवेई प्रान्तको वुहानमा फैलिएको कोराना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई सताइरहेको छ । यसले अहिले महामारीको रूप लिएको छ ।

कोरोना भाइरसविरुद्धको युद्धमा अहिले स्वास्थ्यकर्मी ‘फ्रन्टलाइन’मा छन् । डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी डरका बाबजुद कोरोनाका बिरामीको उपचार गरिरहेका छन् ।

कतिपय देशमा कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, नर्सहरू नै कोरोनाको सिकार बनेका छन् ।

नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो मात्रामा छ ।अहिले देशभरमा कोभिड–१९ का सबैभन्दा बढी बिरामी सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा छन् । यो अस्प्तालमा अहिले ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सीमित स्रोतसाधनका बीच अस्पतालमा रातदिन बिरामीको उपचारमा खटिरहेको ६४ जनाको एउटा टिम छ । जसको नेतृत्व डा। जगदीश भट्टले गरेका छन् ।

यो टिम मध्यकी एक हुन्, नर्स मीना थापा । सेती प्रादेशिक अस्पतालमा उनी पनि अहिले कोरोना भाइरसको उपचारमा खटिएकी छिन् ।
पहिलो चरणमा आएका कोरोनाको विरामीको उपचार र रेखदेखम मीना पनि संलग्न छिन् । पहिलो पटक धनगढीमा कोरोना संक्रमित भेटिएपछि आइसोलेसन वार्डमा राखेर उपचार सुरू गरिएको थापा बताउँछिन् ।

सुरूमा परीक्षणका लागि स्वाबलाई काठमाडौं पठाउनुपर्थ्यो भने अहिले कैलालीमा नै परीक्षण सुरू भएको छ ।

मीना भन्छिन् ‘सुरूको एकरदुई दिन त अलिअलि डर लाग्यो । के हो, कस्तो हो १ विश्वभरी फैलिएको छ । तर, विस्तारै डर हट्दै गयो ।

बिरामीसँगै हामीले पनि विशेष सतर्कताचाहिँ अपनाउनै पर्छ । आफू पनि बाँच्नु पर्छ र बिरामीलाई पनि उपचार गरेर बचाउनु पर्छ ।’

कोरोनाको त्रास भए पनि त्यो बिरामीका अगाडि देखाउन नहुने मीना बताउँछिन् । ‘हामी उनीहरूको उपचार र रेखदेख गर्न जाँदा नर्मल नै हुन्छौँ । उनीहरूभन्दा हामी धेरै आत्मविश्वासी भए मात्र उपचार गर्न सक्छौँ’, थापा भन्छिन्, ‘पेसा नै हाम्रो उपचार गर्ने हो । तर, यस्तो बिमारबाट आफू पनि बच्नुपर्ने चुनौती अगाडि छ । सानो गल्तीले संक्रमण हुने खतरा हुन्छ । त्यही भएर आफू सुरक्षित भएर उपचार गर्छौँ ।’

बिरामीबारे आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन् ‘सुरूसुरूमा त कोरोना संक्रमित बिरामी पनि धेरै डराउँछन् । मानसिक रूपमा पनि परामर्श दिँदै गएपछि नर्मल हुँदै जान्छन् ।’

सबै कोरोनाका बिरामी भएको आइसोलेसन वार्डमा अस्पतालले वाइफाइ जोडिदिएको छ । बिरामीहरूको स्वास्थ्य अवस्था पनि सामान्य नै छ । ‘धेरै गम्भीर बिरामी नभएर पनि होला, धेरै गाह्रो महसुस भएको छैन । तर, पनि कसरी राम्रो बनाउने भन्ने त हुन्छ नै’, उनले थपिन् ।
उनका अनुसार चार जना बिरामी मोबाइलमा समाचार हेर्छन् । आफूलाई सहज अवस्थामा ल्याउने प्रयास गर्छन् ।

उपचारमा खटिएका चिकित्सक र नर्सका परिवार पनि चिन्तित छन् । मीनाको घरमा पनि श्रीमान्, २ छोराछोरी, सासु र ससुरा छन् । माइतमा आमाबुबा छन् । सबैलाई सम्झाइ बुझाइ गर्नु पर्छ उनले । पहिले त उनलाई पनि गाह्रो भयो । तर अहिले भने सबैले उल्टै उनलाई सम्झाउने गरेका छन् ।

उनी भन्छिन् ‘दुई दिनसम्म त धेरै डर लाग्यो । तर, अहिले अलि सहज भएको छ । परिवारका सदस्य पनि सुरूमा डराए । अहिले भने सबैले मलाई नै सम्झाउँछन् । हात धुनु, पीपीई प्रयोग गर्नु, हरेक दिन तीन चार पटक फोन गरेर भन्छन् ।’

अहिले सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरू पनि आफ्नो सुरक्षाप्रति पनि उत्तिकै सचेत छन् ।

बिरामीहरूको प्रतिरोधात्मक क्षमता बढाउने खाना अस्पतालले दिइरहेको छ । सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ । उनीहरूलाई मानसिक सान्त्वना पनि दिनुपर्छ ।

मीना स्वास्थ्य क्षेत्रमा क्रियाशील भएको २० वर्ष भइसकेको छ । यो अवधिमा उनी नगण्य बिरामीको उपचारमा संलग्न भइन् । धेरै गम्भीर बिरामीको उपचार पनि गरिन् । तर पनि मन अहिलेको जस्तो त्रस्त कहिल्यै भएन । उनी भन्छिन् ‘मैले एचआइभी पोजेटिभदेखि हेपाटाइटीससम्मका बिरामीको उपचार गरेँ तर कहिल्यै डर लागेको थिएन । अहिले कोरोनाले विश्वमै आतंक मच्चाएको भएर होला, पहिलो पटक डर महसुस भयो ।तर, अब बिस्तारै सहज लाग्न थालेको छ ।’बुटवलमा पढ्दै गरेकी उनकी छोरी लकडाउनका कारण उतै थुनिएकी छन् ।

मीनाको दिनचर्या हिजोआज अलि फेरिएको छ । पहिले दिनमा एक पटक मात्र फोन गर्ने मीनाका छोराछोरी, श्रीमान र बुवाआमा हिजोआज तीनरचार पटकसम्म फोन गर्छन् । उनी भन्छिन् ‘हिजो एक जना बिरामी थपिएको थाहा पाएपछि छोरीले फोन गरेर हात धुनु, सरसफाइमा ध्यान दिनु है मम्मी भन्दै थिइन् । घरका अन्य सदस्यले पनि फोन गरेर सम्झाइरहन्छन् ।’

पहिला पहिला त उनी ड्युटीपछि सिधै घर नै जान्थिन् । तर, अहिले त बिरामीको संख्या बढ्न थालेकाले उनीसहित उपचारमा खटिएका चिकित्सक र नर्स घर जाँदैनन् । आफ्नो डिउटी सकेपछि होटलमा गएर बस्ने गरेका छन् । मीना भन्छिन् ‘पहिला पहिला त घर जाँदा पनि केही लाग्दैन थियो तर अहिले आफैंलाई कस्तो कस्तो लाग्छ । त्यही भएर होटलमा नै बस्ने गरेकी छु । परिवारसँग फोनमा कुरा गर्छु । श्रीमान र छोरा मात्र घरमा छन् ।’

उपचारमा खटिएकी मीना आफ्नो पेसा नै अरुको जीवनका लागि भएको ठान्छिन् । ‘संसारमा महामारी फैलिएको छ । यसबाट टाढा भाग्न हुँदैन । यसको मुकावला गरेर अगाडि बढ्नुपर्छ । बिरामीको उपचार गर्नु मेरो कर्तव्य हो । यो मेरो धर्म पनि हो । त्यसैले जति चुनौती आए पनि सामना गरिन्छ, भागिँदैछ’, उनले अठोट व्यक्त गरिन् ।
शिलापत्र डटकमबाट साभार