Swornakshar Logo

राहतको नाममा जथाभावी चन्दा नउठाउनुः थाह नगरपालिका

हेटौडा । १८ चैत । थाहा नगरपालिका क्षेत्रमा कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र राहत बाढ्ने नाममा जथाभावी चन्दा संकलन नगर्न नगरपालिकाले सूचना जारी गरेको छ ।
कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रणको सहायताको नाममा गैरकानूनी ढंगले कुनै पनि संघ÷संस्था÷व्यक्तिले चन्दा संकलन नगर्न सूचनामा भनिएको छ ।
यसको नियन्त्रणको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय पालुङसंग समन्वय गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका संयोजक विवेक विडारीले जानकारी दिए ।
यदि कसैले त्यस्तो गरेको थाहा पाए वा जानकारी आएमा नगरपालिकामा खबर गर्न पनि सचिवालयले अनुरोध गरेको छ ।
नगरपालिकाले प्रत्येक वडामा अत्यावश्यकीय खाद्यन्न आयातलाई सहजता बनाएको छ । नगरपालिकाले आफ्नो १२ वटै वडा समितिको संजोकत्वमा वडा भित्र रहेका खाद्यान्न तथा दैनिक उपभोगका सामाग्री आपुर्तिको सहजताको लागी वडाबाट नै लगत संकलन गर्न वडालाई परिपत्र गरेको छ ।
मौज्दात नगरपालिकामा पेश गरेपछि मात्र खाद्यन्न आपूर्तिकर्ताले सिफारिस पाउनेछन्
नगरपालिकाका पसलहरुमा अत्यावश्यकीय सामाग्री खरिदका लागि पुगेका ग्राहकरुले भौतिक दुरी कायम राखेर मात्र खरिद विक्री गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको समन्व्यमा अलपत्र परेका ४० जनालाई गन्तव्यसम्म पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।
त्यसैगरी काठमाण्डौंबाट हिँडेर हेटौंडा जानका लागि थाहामा आइपुगेका ७६ वर्षिय रामप्रसाद पौडेललाई पनि गन्तव्यसम्म पठाइएको छ । उनी चार दिन लगाएर काठमाण्डौंबाट थाहानगर आइपुगेका थिए ।

थाहा नगरपालिकाले हालको लकडाउनको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति÷परिवारहरुको पहिचानका लागि विवरण संकलन शुरु भएको छ ।
यस्तो विवरण संकलनको लागि नगरका सबै वडा कार्यालयहरुलाई परिपत्र गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

थाहा नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सबै सहकारी संस्थाहरुलाई अत्यावश्यकीय सेवाहरु प्रदान निर्देशन गरेको छ । सहकारी विभागले गरेको परिपत्र अनुसारको सेवा प्रवाह गर्न नगरपालिकाले सहकारी संस्थाहरलाई निर्देशन गरेको हो ।