Swornakshar Logo

५ हजारको जिम्मेवारी म लिन्छु ,१२ हजार मान्छे मारेको जिम्मेवारी राज्यले लिन्छः प्रचण्ड

१ माघ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सशस्त्र विद्रोहका बेला १७ हजार मान्छे मारेको अभियोग लागेको बताउँदै राज्यका तर्फबाट त्यसबेला १२ हजार मान्छे मारेको जिम्मेवारी कसले लिने भन्दै प्रश्नसमेत गरे ।

‘मलाई १७ हजार मान्छे मारेको अभियोग लगाइन्छ तर राज्यले मारेका १२ हजार मान्छेको जिम्मेवारी कसैले लिन्छ भने बाँकी ५ हजार मान्छे मारेको जिम्मेवारी म लिन्छु,’ प्रचण्डको भनाइ छ ।

सांसद रेशम चौधरी चाँडै जेलमुक्त हुने दाबी गरेका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव तथा थारू संवत् २६४३ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले थारू हकहितका लागि लड्ने एकमात्र नेता आफू भएको बताए ।

झुटा अभियोगमा चौधरीलाई थुनामा राखिएको भन्दै थारूहरूले विरोध गरेको भन्दै उनले आफ्नै पहलमा चौधरी तत्काल जेलमुक्त हुने आश्वासनसमेत दिए ।

आफू प्रधानमन्त्री हुँदा चौधरीलाई दिल्लीमा गएर भेटेको र जेलमा पुगेरसमेत भेटेको भन्दै उनको रिहाइका लागि आफू लागिपरेको प्रचण्डको भनाइ छ ।

‘दिल्ली पुगेर र नेपालको जेलमा गएर पनि रेशम चौधरीलाई भेट्नेमै हुँ, ढुक्क हुनुहोस् उनी छ्ट्दै छन्,’ प्रचण्डले भने ।

प्रचण्डले धेरै थारूहरूलाई झुटा मुद्दा लगाएर राज्यका तर्फबाट थुनामा राखिएको भन्दै सबैलाई एकएक गर्दै रिहा गर्दै जाने आश्वासनसमेत दिए ।

उनले क्रान्तिको बाटो बाङ्गोटिङ्गो हुने पुरानो अभिव्यक्ति दोहोर्‍याउँदै सोझो बाटोबाट क्रान्ति सफल नहुने दाबीसमेत गरे । ‘क्रान्ति सधैं सोझो बाटोबाट हुँदैन, दायाँबायाँ भइरहन्छ । अहिले दायाँबायाँ भएको छ तर आत्तिनु पर्दैन,’ थारू आन्दोलनप्रति लक्षित गर्दै प्रचण्डले भने ।

थारू अगुवा लक्ष्मण थारूले कार्यक्रममै रेशम चौधरी जेलमुक्त नभए १५ माघबाट देशव्यापी आन्दोलन गर्ने बताएपछि प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

थारूले आगामी ७ माघमा उच्च अदालत दिपायलमा चौधरीको ज्यानमुद्दामा सुनुवाइ तय भएको र सो सुनुवाइपछि चौधरी नछुटे आन्दोलन गर्ने मञ्चबाटै चेतावनी दिएपछि प्रचण्डले आक्रोशपूर्ण भाषण गरेका छन् ।