Swornakshar Logo

साग महिला भलिबलः दोस्रो खेलमा नेपाल भारतसँग पराजित

पहिलो सेट हार्नु नै दुर्भाग्यः प्रशिक्षक जगदिश भट्ट

१२ मंसिर । काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज भएको खेलमा भारतसंग हारेको छ । हार पछि मुख्य प्रशिक्षक जगदिश भट्टले पहिलो सेट हार्नु नेपालका लागि दुर्भाग्य भएको बताएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त समुह ‘ए’ को दोस्रो खेलमा बलियो टोली भारतसँगको हारपछि भट्टले पहिलो सेटमा भएको सानो गल्ती नै हार्नु परेको बताए ।

उनले भने,“सुरुआती रुपमा हामी भारतसँग राम्रो प्रदर्शन गर्ने योजनामा थियौं । भारतसँग दबाबमा नआइ राम्रो खेल्ने योजना थियो । पहिलो सेट जितेपछि खेलाडी उत्साहितसँगै दबाबमा परे । एकपछि अर्को गल्ती हुँदा भारतले जित हात पार्यो ।”

उनका अनुसार पहिलो सेटमा रेश्मा भण्डारीको स्थानमा निरुता ठगुन्नालाई परिवर्तन गर्नु गल्ती भएको हो । नेपालले २ अंकको अग्रता लिएको बेला रेश्माको स्थानमा कोर्टमा प्रवेश पाएकी निरुताले विपक्षीको जम्प सर्बिस रिसिब गर्न नसक्दा भारतले अंक बटुलेको थियो ।

त्यसपछि लगातार अर्को गल्ती गर्दा नेपालले भारतलाई पहिलो सेटमा २६–२४ ले नतिजा सुम्पीयो । दोस्रो सेटमा आक्रमक बनेको भारतले एकपछि अर्को प्रहार गर्दा नेपाली खेलाडीले कुनै गतिलो खेल देखाउन सकेनन् ।

प्रशिक्षक भट्ट भन्छन्,“हारपछि खेलाडी आत्तिदा दोस्रो सेटमा राम्रो गर्न सकेनौं । त्यसैपनि भारत भन्दा खेलाडीको मनोबल कमजोर हुन्छ । तेस्रो सेटमा पनि उठ्न सकेनौं । भारत निकै अनुभवी टोली हो । खेलाडीलाई धेरै नै एक्सपोजर छ । हामीसँग जुनियर खेलाडी हुँदा दबाब झेल्न सकेनन् ।”

उनले बिहीबार भएका कमजोरीलाई सुर्धादै अर्को खेलमा सुधार गर्ने बताए । हाम्रो लक्ष्य अब सेमिफाइनलमा राम्रो गरी फाइनल खेल्ने हो । आज भएका कमजोरीलाई सुधार गर्दै अब सेमिफाइनलका लागि तयार हुन्छौं । फाइनलमा फेरी भारतसँग भिड्ने योजनामा छौं ,प्रशिक्षक भट्टले भने ।

टोलीकी कप्तान अरुणा शाहीले पहिलो सेटमा जित्ने दबाबमा पर्दा हार्नुपरेको प्रतिक्रिया दिइन् ।


नेपाली टोलीको कमजोरी पत्ता लगायौ र जित्न सफल भयौः भारतीय प्रशिक्षक

भारतीय टोलीका प्रशिक्षकले भने नेपालको कमजोरीमा योजना बनाउदा जित्न सफल भएको बताए । उनले घरेलु दर्शक र कोर्टकाबीच पनि खेलाडीले नतिजा निकालेकोमा खुसि व्यक्त गरे ।

भारतीय टोलीकी कप्तानले नेपालको टोलीमा धेरै नै परिवर्तन आएको बताइन् । उनले भनिन्,‘नेपालको टोलीले धेरै राम्रो खेलेको छ । हामीलाई पहिलो सेटमा टक्कर दियो । जित्छौं सोचेको नै थिएनौं । तर नेपालको गल्तीमा हामीले फाइदा उठायौं ।’

भारतविरुद्ध अग्रता लिएको नेपाल अन्नत पहिलो सेटमा २६–२४ ले हारेको थियो । दोस्रो सेटमा कमजोर प्रदर्शन गरेको नेपाल २५–१२ ले हार्दा तेस्रो सेट २५–१६ ले गुमाएको थियो ।