Swornakshar Logo

एक समुहद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि निर्घात कुटपिट

१६ असोज । काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य भइरहेको छ । निर्माणाधिन विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि एक समुहले निर्घात कुटपिट गरेको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको समुहले उनीमाथि कुटपिट गरेका हुन् ।

उनिहरुले मलाई पार्टी छ दशैँको बेला रमाइलो गरौँ भनि बोलाएर योजनावद्ध ढंगले आफुमाथि कुटपिट गरिएको रनवे प्रमुख कार्कीले बताए । उनीमाथि बुधबार राती १० बजे कुटपिट भएको हो । कार्कीलगायत कुटपिटमा संलग्नहरु आयोजना प्रमुख प्रदीप अधिकारी निकटका व्यक्ती भएको पीडित अनिल कार्कीले बताए । उनीहरुले हिजो दिउँसै देखि रक्सी खाएका थिए पिडित कार्कीले भने ।

कमल कार्की, सागर मोहन, सोबेन्द्रराज जोशीलगायतले बोतल र रडले टाउकोमा हानेपछि म बेहोस भएछु । त्यसपछि पनि कति कुटे थाहा पाइनँ । चोट हेर्दा बेहोस भएपछि पनि धेरै कुटेको देखिन्छ ।

अहिले उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

उनिहरुले एयरपोर्ट निर्माणका क्रममा गरेका गलत क्रियाकलापलाई आफुले बाहिर ल्याउने डरले कुटपिट गरेको उनले बताए । केहि समय पहिले कमल कार्कीले पिडितलाई जागिरबाटै निकाल्न प्रयास गरेको समेत उनको आरोप छ ।

पिडित कार्कीको टाउको र आँखामा चोट लागेको छ । शरिरका विभिन्न भागमा निलडाम समेत छन् ।
निर्माणाधिन भवन, एयरपोर्ट बाहिरको सडक, प्रयुक्त सिमेन्ट सम्झौता र गुणस्तर मापदण्ड अनुसार नभएको उनले बताए । त्यहाँबाट निस्केका ढुंगाहरु अवैध तरिकाबाट बिक्रि पनि गर्ने गरेका छन् । यी र यस्ता विविध विषय सार्वजनिक गरिदिने डरले कुटपिट गरेको कार्कीले आरोप लगाएका छन् ।

विमानस्थल प्रमुख बिनेस मुनाङ्कर्मीले भने उनीहरुको व्यक्तिगत झगडाले ठुलो रुप लिएको बताए । उनीहरुबीच कर्मचारी हटाउने र राख्ने विषयमा झगडा भइरहन्थ्यो’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले भने घटनाबारे केही जानकारी नआएको बताए ।