Swornakshar Logo

सुरु भयो मकवानपुरमा सडक फराकिलो बनाउने काम

२३ असार । हेटौंडा । पूर्ब– पश्चिम राजमार्ग अन्तर्रगत मकवानपुरको लोथरबाट सडक फराकिलो पार्ने कामको सुरु भएको छ। राजमार्गको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्ने कामको आजबाट सुरु भएको छ । चितवन र मकवानपुरको सिमानामा पर्ने लोथर बजारबाट सडक फराकिलो पार्ने अभियान सुरु भएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिए ।

मनहरी गाउँपालिकाको लोथरबाट आज सडक कार्यालयले डोजर लगाएर सडक छेउका संरचनाहरु भत्काउन सुरुवात गरेको अधिकारीले जानकारी दिए । उनले भने–‘सडक सिमाका संरचना हटाउनका लागि दिइएको १५ दिनको म्याद सकिने बित्तिकै आजबाट राजमार्गको सिमा क्षेत्रमा पर्ने घर, टहरा तथा संरचना भत्काउन सुरुवात गरेका हौं ।’

आज मात्र लोथरमा २० वटा टहरा भत्काइएको अधिकारीले जानकारी दिए । आज बिहान घर टहरा भतकाउनका लागि सडक डिभिजन कार्यालयको सिमाना पथलैयाबाट पनि सुरुवात गरिएको बताइएको छ । आज बिहानैबाट सडक कार्यालयको डोजर लोथर पुगेपछी स्थानीयले टहरा आफै भत्काउन थालेका हुन् ।

२५ मिटर सडक फराकिलो बनाउने अभियान अब निरन्तर जारी राखिने सडक कार्यलयको योजना छ । यसअघि सडक भत्काउन सुरु गरिएपनि बिभीन्न खालका आन्दोलनका कारण सडक बिस्तारको काम रोकिएको थियो ।
मकवानपुरको मुख्य बजार क्षेत्रको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३ सय भन्दा धेरै घरले सार्वोच्च अदालतको स्टे अर्डर लिएको भन्दै उनले त्यस घर बाहेक अन्य क्षेत्रमा डोचर चल्ने उनले बताए। मुआब्जाको विषयमा अहिलेसम्म कुनैपनि निर्णय भैनसकेको उनको भनाई रहेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले भने विना मुआब्जा घरमा डोजर चलाउन नदिने चेतावनी दिएको छ ।