Swornakshar Logo

कांग्रेस र राजपाले जलायो सुदूरपश्चिमको बजेट

५ असार । कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पुस्तिका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले जलाएका छन् । सरकारले ल्याएको बजेट प्रदेशवासीको हितमा नभएर सीमित व्यक्तिको फाइदा हुने गरी आएको भन्दै सांसदहरुले प्रदेशसभाको गेटमै आगामी आर्थिक वर्षको बजेट र वार्षिक कार्यक्रम समेटिएको रातो किताब जलाएका हुन् ।

आज दिउँसो ३ बजे बसेको संसद् बैठकमा कांग्रेस र राजपाका सांसदले बैठक सुरु भएलगत्तै आ–आफ्नो सिटमा उभिएर नाराबाजी गरेर बैठकमा अवरोध जनाएका थिए ।

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने कांग्रेस सांसद भरतबहादुर खड्काले बताए । तर, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले भने बजेट सन्तुलित रहेको दाबी गरे । बजेट संशोधन हुन नसक्ने उनको भनाइ छ ।

सदनको समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६ ०७७ का लागि ल्याएको बजेट असन्तुलित रहेको आरोप उनीहरुको छ ।

साथै विपक्षी दलका सांसदले रातो किताबलाई ब्ल्यांक बुकको संज्ञा दिएका छन् । उनीहरुले बजेट संशोधन नगरिँदासम्म अवरोध जारी राख्ने बताएपछि पनि सभामुखले बस्न आग्रह गरे तर सांसदहरु उभिरहेपछि सभामुखले बैठक आगामी ८ जेठसम्मका लागि स्थगित गरेका छन् ।