Swornakshar Logo

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल अस्पताल भर्ना

२० जेठ । काठमामाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य जाँच गरेको छ ।

चिकित्सकले मुख्यमन्त्रीलाई एक हप्ता आराम गर्न सुझाएका छन् । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । निकै सक्रिय दैनिकी भएका पौडेल बुढ्यौली, उच्च रक्त चाप तथा मधुमेहका बाबजुद पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने गरेको सचिवालयको भनाइ छ ।

यसअघि मुख्यमन्त्री पौडेलको हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही २४ र २५ जेठमा हेटौंडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।