Swornakshar Logo

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताः १४० स्वर्णसहित आर्मी प्रथम, नेपाल पुलिस दोस्रो, एपीएफ तेस्रो

११ वैशाख । बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १४० स्वर्ण सहित आर्मी प्रथम भएको छ ।
८ औं राष्ट्रिय खेलकुल प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो ।

बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे । जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल पुलिस र तेस्रो स्थानमा सशस्त्र प्रहरीको एपीएफ रह्यो । आर्मीले एक सय ४० स्वर्ण, १ रजत र ६८ काश्यसहित दुई सय ८९ पदक हात पार्यो ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल एक सय ५७ पदक जित्यो।

त्यस्तै तेस्रो स्थानमा रहेको एपीएफले ५३ स्वर्ण, ६९ रजत र ८१ काश्य पदकसहित २०३ पदक जित्यो ।

यस्तै पदक तालिकाको चौथो स्थानमा प्रदेश तीन रह्यो । उसले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदक हात पार्यो ।

पाँचौ थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्य सहित ७७ पदक जित्यो । सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य गरी ५४ पदक जित्न सफल भयो ।

यस्तै प्रदेश एकले ९ स्वर्ण, २० रजत र ५९ काश्य जित्यो । प्रदेश दुई र एनआरएनले समान ६–६ स्वर्ण हात पार्यो ।

विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गरेका छन् । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्षभित्र गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । प्रतियोगिताको समापन गर्दै कार्यवाहक राष्ट्रपति पुनले खेलकुदको विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिए।

नेपाली खेलाडीले सीमित श्रोत र साधनका बाबजुद पाएको सफलताको प्रशंसा गर्दै खेलकुद र खेलाडीको प्रोत्साहनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराए । वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका हुन् । प्रतियोगितामा ३५ खेलमा पाँच हजार बढी खेलाडी प्रतिस्पर्धी थिए ।