Swornakshar Logo

लगानी सम्मेलनको सुरक्षामा ४ हजार सुरक्षाकर्मी

१३ चैत । काठमाडौ । आगामी शुक्रबारबाट राजधानीमा सुरु हुने दुईदिने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडाई गर्न थालेको छ ।

लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानीकर्ताको सुरक्षाका लागि गृह मन्त्रालयले देशको चारवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन दिएको हो ।

लगानी सम्मेलन अवधिमा सरकारले प्रतिबन्ध लगाएको नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अप्रिय घटना गराउन सक्ने भन्दै सचेत रहनसमेत गृहले सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालाय स्रोतले जनाएको छ ।

लगानी सम्मेलनको सुरक्षार्थ चार हजार बढी नेपाल प्रहरी प्रत्यक्ष खटिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, सशस्त्र प्रहरीसँग मिलेर समेत संयुक्त गस्ती सञ्चालन हुने ज्ञवालीको भनाइ छ । राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले समेत लगानी सम्मेलनलाई मध्यनजर गरेर आफ्ना इन्टेलिजेन्स जनशक्ति प्रयोग गर्ने जनाइएको छ ।

सम्मेलन सोल्टिमोडमा रहेको सोल्टी होटलमा हुनेछ । लगानी सम्मेलनमा छिमेकी मुलुक चीन, भारत, म्यानमार, जापान, दक्षिण कोरिया, ओमन, अमेरिका, श्रीलंकालगायत ४० राष्ट्रका करिब ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ ।

सम्मेलनकै दिन विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । सोही दिन एसइई परीक्षा पनि नियमित संचालन हुने तालिका छ ।
प्रहरीले भने बन्दको कुनै असर नहुने र विप्लवका कारण लगानी सम्मेलनमा कुनै सुरक्षा खतरा नहुने जनाएको छ ।