Swornakshar Logo

भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्छःप्रचण्ड

१८ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार उपचाररत अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बेला परिवारसँग भेट गर्दै उपचारमा लाग्ने खर्च सरकारले ब्यहोर्ने बताएका हुन् । प्रचण्ड शनिबार साँझ अधिकारीको स्वास्थ्य अस्था बुझ्न अस्पताल पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै प्रचण्डले अधिकारीलाई भेन्टिलेटरमा राखिएको र अवस्था गम्भीर रहेको डाक्टरले जानकारी गराएको बताए

यस्तै अधिकारीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट ह्याम्स अस्पताल पुगेका थिए ।

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो । उनको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पतालले जनाएको छ ।