Swornakshar Logo

कांग्रेस केन्द्रीय समिति बैठकबाट नेविसंघको कार्यसमिति भंग

२९ माघ । काठमाडौं । नेपाली कांग्रेसले नैनसिंह महरको राजीनामा स्वीकृत गरेको छ । यसको साथै नेविसंघको कार्यसमिति पनि भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले महरले पछिल्लो समय गरेका निर्णयहरु पनि बदर गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ‘महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य नेता प्रदिप पौडेललेबताए । ‘ आजको बैठकले नेविसंघ जिल्ला सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर गरिएको छ ।’
बैठकमा नेविसंघको तदर्थ समिति ल्याउने विषयमा छलफल भएपनि पार्टीको विधान केन्द्रीय कार्यसमितिबाट अनुमोदन नहुन्जेलसम्म नेविसंघले तदर्थ समिति पनि नपाउने पौडेलले बताए ।

बैठकमा संस्थापन इत्तर पक्षका प्रमुख नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडु, गगन थापा, प्रदिप पौडेललगायतले पार्टीको विधानलाई यथाशीघ्र पारित हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले विधान पारित गर्दैगर्दा महासमिति बैठकमा जिल्ला सभापतिहरुलाई सभापति शेरबहादुर देउवाले दिएको आश्वासनको आधारमा पारित हुनुपर्ने जोड दिए ।
उनीहरुको भनाईप्रति देउवा पक्ष बोलेका नेताहरुले प्रतिवाद गरेपछि केन्द्रीय कार्यसमितिको माहोल नै तनावपूर्ण भएपछि बैठक स्थगित गरिएको थियो । बैठक भोलि दिउँसो १ बजेको लागि बोलाइएको छ ।
यसअघि बैठक माघ १०, ११, १३, १४, २३, २४, २८ र २९ गते बसेको थियो । यो विषयमा यसअघि कुनै पनि निर्णय हुन सकेको थिएन् ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा दिएका थिए ।