Swornakshar Logo

अब के हुन्छ राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयक

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नेपाल नागरिकता संशोधन विधेयक २०७९ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुगेको थियो । उक्त विधेयक आइतबार राष्ट्रपति भण्डारी फिर्ता गरेकी छन् ।

उनले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्विचार गर्न आवश्यक देखिएको उल्लेख गर्दै संघीय संसदमा फिर्ता पठाएकी हुन् ।

संविधानको धारा ११३ को २ मा भनिएको छ–‘प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक पन्ध्र दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनु पर्नेछ ।’ यस्तै उपधारा ३ मा प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको पन्ध्र दिनभित्र निजले सन्देशसहित विधेयक उत्पति भएको सदनमा फिर्ता पठाउने भन्ने व्यवस्था रहेको छ ।

राष्ट्रपतिले फिर्ता पठाएको यो विधेयक अब फेरि संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्टियसभामा पेश हुनेछ । सो विधेयकमाथि पुन छलफल भई आवश्यक ठानेमा संशोधन हुनेछ अन्यथा सोही अवस्थामै पास भएर पुन प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुग्नेछ । यो विधेयक पुनः दुबै सदनमा प्रस्तुत हुने छ । विधेयकमा थप संशोधन आवश्यक ठानेमा संशोधन हुने अन्यथा हाल कायम रहेकै अवस्थामा पास हुने बताइन्छ ।

संविधानको धारा ११३ को उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था रहेको छ ।