Swornakshar Logo

सत्ता गठबन्धनले सिट बाँटफाँटका लागि बनायो तीन आधार

काठमाडौं । पाँच दलिय सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि तीन आधारलाई मान्ने तयारी भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको बताइएको छ ।

पहिलो आधार प्रत्यक्षमा पाएको मत र जितेको सिट , दोस्रो समानुपातिकमा पाएको मत र तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने कार्यदलका एक सदस्यले बताए ।

कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ,’ ती नेताले भने।

पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ।

‘हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ।’

यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए।

बैठकमा कुनै पनि दलले सिटको दाबी गरिसकेका छैनन्।