Swornakshar Logo

कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीयत एक महिने अभियान देशभर चलाउने भएको छ । ‘घरघर जाऔं,कांग्रेस जिताऔँ’ भन्ने नारका साथ अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।

अभियान आगामी फागुन २९ देखि चैत २९ सम्म चल्ने छ । ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालनका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले अभियानबारे प्रशिक्षण दिएका छन् । उनले अभियान सुरु भएपछि पनि वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन सवै स्थानीय तहमा एकपटक अनिवार्य पुग्न र सातै प्रदेश कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य अघि सारेको छ । त्यसैगरी स्थानीय तह निर्वाचनमा सवै वडा र टोलसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्दै कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपील गर्ने रहेको छ ।

कांग्रेसले तेस्रो उद्देश्यमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति अनुसार पार्टीलाई परिचालन गर्ने, काँग्रेस नेतृत्वले विगतमा गरेका राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने रहेका छन् ।
कांग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७०५ नागरिकलाई खोप लगाइसकेको कुरा जनतामा बुझाउने भएको छ । साथै निर्वाचनसम्म पुग्दा प्राय सवैलाई खोप लगाइसक्ने योजना रहेको र जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपील गर्न निर्देशन दिएको छ ।

त्यसक्रममा कांग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसीसी संसदबाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रष्ट पार्न पनि अभियानमा संलग्न नेताहरुलाई निर्देशन दिएको छ ।

यसैवीच कांग्रेसले अघि सारेको कार्यक्रमबारे केन्द्रीय सदस्य नैनसिंह महरले फरक मत राखेका छन् । महरले जनतासँग जाँदा काँग्रेसलाई जिताउनुपर्ने आधारहरूबारे थप व्याख्या गर्नुपर्ने भन्दै गठबन्धन गर्दा स्थानीयस्तरको आवाश्यकता अनुसार गर्न दिनुपर्ने माग गरेका छन् ।