Swornakshar Logo

शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ मा बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।