Swornakshar Logo

एमसीसीमा संसदीय अनुमोदनको बुँदा ओलीजीको पालामा थपियोः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीस संसदबाट अनुमोदन गर्नु पर्ने बुँदा केपी ओलीको पालामा थपिएको बताएका छन् । नेपाल प्रेस युनियनले शुक्रबार आफ्नो केन्द्रीय कार्यालय (थापागाउँ) मा महतलाई पार्टीको प्रवक्ता भएकोमा बधाई र सम्मान दिन आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमसीसीको बारेमा बोल्दै भने, ‘संसदबाट अनुमोदन गर्ने कुरा पहिला थिएन, ओलीजीकै पालामा संसदीय अनुमोदनको बुँदा थपियो र त्यही समयमा संसदमा टेबल भएको हो। नेपालमा जे प्रश्न गर्नुपर्ने हो त्यहाँ प्रश्न गरिँदैन तर अन्य विषयमा अतिरञ्जना गराउने गरेका छन्।’

नेपाल आफैंले एमसीसीअन्तर्गत सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अनुदान माग गरेको उनले बताए।

‘हामीलाई पूर्वाधारको क्षेत्रमा सहयोग चाहियो भनेर अल्पविकसित देशहरूले माग गरे। त्यसपछि अमेरिकाले त्यो माग सम्बोधनका लागि एमसीसी सुरु गर्यो, उनले भने, ‘सन् २०१२ बाट नेपाल पनि त्यसमा प्रवेश गर्यो।’ उनले भने ।

बाबुराम भट्टराईको पालामा नेपालले एमसीसीका लागि आवेदन दिएको महतले बताए ।

‘एमसीसी नेपाल भित्रिनमा सबै राजनीतिक दलहरुको सहभागिता रहेको बताए । माओवादी र कांग्रेसको संयुक्त सरकारको पालामा सम्झौता भएको महतले बताए ।

एमसीसी नेपालकै संविधान र कानुनअनुसार सञ्चालन हुने दाबी गर्दै उनले भने, ‘इन्डोप्यासिफिक रणनीति र सैन्य प्रयोजनका लागि होइन। यो कुनै देशको विरोधमा आएको होइन। यही सम्झौताको मोडलमा अन्य मुलुकले सहयोग गर्छन् भने हामी लिन तयार छौं।’