Swornakshar Logo

२४ लाख डोज कोरोना खोप हराएको होइनः मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको बताएका छन् ।
मन्त्री खतिवडाले आफ्नो चार महिने कार्य प्रगति विवरण सार्वजनिक गदै उक्त कुरा बताएका हुन् ।

गत असोज २२ गते मन्त्री नियुक्त भएका खतिवडाले पत्रकारसम्मेलन गदै आफ्ना कार्यप्रगति सार्वजनिक गरेका हुन्।
आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताएका हुन् ।

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उनले बताए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन गरिरहेको उनले बताए ।

केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको छ त्यसको रिपोर्ट समितिले फागुन २ गते भित्र तयार पार्ने उनले बताएका छन् ।

कोभिड खोप सम्बन्धी कार्य प्रगति

१.सम्माननीय प्रधानमन्त्रीज्युले घोषणा गर्नुभएको एक मात्र प्राथमिकता “खोप, खोप र खोप” लाइ मुर्तरुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गरिएको ।

(क) १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको छ ।
(ख) विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ ।

(ग)लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको छ ।

(घ) २०७७ माघ महिना देखि सञ्चालित कोभिड–१९ विरुद्धको खोप अभियान समय तालिका बनाइ सञ्चालन गरिएकोमा, २०७८ मंसिर महिनादेखि कोभिड १९ विरुद्धको खोप अभियान देशव्यापी रुपमा निरन्तर र नियमित सञ्चालन भइरहेको। ६५ वर्ष भन्दा माथिको उमेर समूह, दीर्घ रोगीलाई लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिँदै आएकोमा मिति २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ

(ङ) ५–११ वर्ष उमेर समूहको बाल बालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भएको छ

२.विगतमा संघीय तहबाट निश्चित अवधि निर्धारण गरेर निश्चित समूहलाई कोभिड–१९ विरुद्ध को खोप प्रदान गरिएकोमा, हाल कार्यनीति परिमार्जन गरी देहाय बमोजिमका रणनीति अबलम्बन गरिएको स्

(क) खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको छ ।
(ख)ठुला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको छ।
(ग) दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ।
(घ)सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड १९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको छ ।

३.खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको छ।

४. खोप कभरेजको लक्ष्य
२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ
२०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७५ लाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ
२०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको छ, हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष तोकिएको मिति भन्दा अगावै प्राप्त हुने अवस्था छ

५. खोपको उपलब्धता (२०७८ माघ २७ सम्म)
हालसम्म प्राप्त खोपः ४ करोड ६५ लाख ७० हजार ७२०
खोप लगाएको मात्राः ३ करोड ४८ लाख २५ हजार ६०१

६.कोभिड–१९ को निदान गर्नको लागि परीक्षण गर्ने प्रयोगशालाको संख्या र परीक्षण क्षमता वृद्धि गरिएको र कोभिड–१९ को भेरिएन्ट पत्ता लगाउन नेपालमा नै कार्य शुरुवात भैसकेको छ, अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारवाहीको दायरामा ल्याउने कार्य भैरहेको छ, परीक्षणको मूल्य नीजि अस्पताल–प्रयोगशालामा रु. २००० बाट घटाई रु. १५०० र सरकारी स्वास्थ्य संस्थामा रु १००० वाट घटाई रु. ८०० कायम गरिएको छ,

७.कोभिड–१९ संक्रमितको उपचार ब्यबस्थापनको लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइसियु बेड, बेडको संख्या वृद्धि गरी अस्पतालहरूको क्षमता वृद्धि गरिएको छ

८.कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको छ
९.भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दुहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्ये ९० प्रतिशतको स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्य ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भैरहेको छ

१०. कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ

मन्त्रालयका नयाँ नीतिगत दस्तावेजहरू ?
१. नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८–२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८–२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७–१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण–२०२१, टेलिमेडीसीन सेवा सञ्चालन कार्यविधि, २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको छ ।

२. दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य शुरु गरिएको छ। आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुनेछ ।

३.नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन सम्पन्न गरिएको छ ।

४.नेपालमा ओमिक्रोनका बिरामीहरु बढ्दो क्रममा रहेकोले राष्ट्रिय संयुक्त वार्षिक समिक्षा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको। यस कार्यक्रममा संघ, प्रदेश र स्थानीय स्तरका स्वास्थ्य सम्बन्धी प्रगती र चुनौती विश्लेषण गर्दै थप प्रभावकारी स्वास्थ्य सेवाका लागि योजना तर्जुमा गरिएको छ ।

५. कोभिड–१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी मापदण्ड, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्यको लागि स्तरीय उपचार पद्धति स्तरीय उपचार मापदण्ड जारी गरिएको छ ।

६.रेबिज बिरुद्धको इम्यूनोग़्लोबुलिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकोमा हाल सातै प्रदेशका १–१ ओटा अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ ।

७.नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्देश्यले समिति गठन गरि सम्भाव्यता अध्ययन गर्ने कार्य भै रहेको छ ।

स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था बिस्तार सम्बन्धी स्
२२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ।

जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भै हस्तान्तरण समेत भैसकेको छ
५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको छ।
अन्त्यमा,
नेपालमा कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न एवम कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई सफल बनाउन योगदान गर्नुहुने स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, शिक्षक, विध्यार्थी, सरकारी, गैर सरकारी संघ–संस्था, दातृनिकाय, समाजसेवी र सञ्चारकर्मीरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु, स्वास्थ्य क्षेत्र सुधारको लागि प्राप्त हुने रचनात्मक सुझावको स्वागत गर्दछु ।