Swornakshar Logo

माओवादीले भन्योः द्वन्द्वकालीन मुद्दा उछालेर सभामुखमाथि आक्रमण गर्नु गम्भीर षड्यन्त्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछाल्नु गम्भीर षड्यन्त्र भएको बताएको छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर सभामुखमाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

कणकमणि दिक्षित लगायतका केही अभियान्ताले मंगलबार द्वन्द्वकालीन मुद्दाका प्रशंग उठाउँदै सभामुख अग्नि सापकोटालाई कारबाही गर्नुपर्ने माग गरेको थियो । त्यसको भोलिपल्ट माओवादीले आफ्नो क्षेत्राधिकारमा नै नपरेको द्धन्द्धकालीन मुद्दको प्रशंग उठाउनु गलत भएको बताएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समाजिक सञ्जालमा लेख्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछाल्नु षडयन्त्र भएको बताएका हुन् । उनले लेखेका छन्, ‘जनप्रतिनिधिमुलक संस्थामाथी प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरी आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुँदै शान्ति र संविधानलाई नयाँ उचाईमा कृयाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालिन मुद्दालाई उछालेर सम्माननीय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो ।’

‘मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्न’ यस्तो मुद्दा उछालिएको मल्ले उल्लेख गरेका छन् । ‘यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वस्त गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ,’ उनले भनेका छन्।