Swornakshar Logo

राष्ट्रपतिद्धारा समयमै निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव,सबैसंग सल्लाह गरेर निष्कर्षमा पुग्छौं : प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीयतहको निर्वाचन संविधानमा भएको व्यवस्था अनुसारनै गर्न सुझाव दिएकी छन् ।
बिहीबार शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले स्थानीयतहको निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न सुझाव दिएकी हुन ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने सुझाव दिएको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
‘स्थानीयतहको निर्वाचनसंगै अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सञ्चार माध्ययमलाई जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । ‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाले भनेका थिए ।

भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।