Swornakshar Logo

पार्टीका उम्मेदवार हराउनेलाई कार्वाही हुन्छः शेरधन राई

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एंव प्रदेश १ का सह–इन्चार्ज शेरधन राईले राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरि कार्वाही गरिने बताएका छन् ।

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन भन्दा केही मत कम भए पनि सोनाम ग्याल्जेन शेर्पा एमालेबाट निर्वाचित हुँदा अन्य दुई उम्मेदवार गुरु बराल र सुमित्रा भण्डारी पराजित भएका थिए ।

एमालेकै दुई प्रदेशसभा सदस्यको मत नपाउँदा बराल गोला तान्दा पराजित भएका हुन् । राईले बिहीबार एक वक्तव्य जारी गर्दै अनुशासनहीन र घात गर्नेहरुका बारेमा छानविन गरेर कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

उनले यो अन्तर्घातलाई पार्टीले गम्भीरतापूर्वक लिएको र कसैलाई पनि छाड्ने चेतावनी दिएका छन् । यो तहको अन्तर्घात र गद्दारी पार्टीले सहन नसक्ने राईले लेखेको वक्तव्यमा उल्लेख छ ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले भनेका छन्– पार्टीबाट अवसर पाएर पदधारण गरेका र सबै सेवा सुबिधा भोग गरेर बसिरहेकाहरुले नसोचेको घात, गद्दारी र अनुशासनहीन कार्य पार्टी भित्रकै केही मतदाताहरुबाट भयो जसकारण गुरु बराल र सुमित्रा भण्डारी पराजीत हुनुभएको छ तर समग्रमा निर्बाचन प्रदेश नं १ मा नेकपा एमाले ले जितेको छ, गठबन्धनधारीहरुको जग भत्किन सुरु भएको छ ।

प्रदेश १ मा एमालेका ४० सांसदमध्ये बराल र भण्डारीलाई ३८ सांसदको मात्र मत परेको थियो । अन्तर्घात गर्ने दुई सांसद को हुन् भन्ने छानविन भइरहेको छ ।

यस्तै नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले विज्ञप्ती जारी गरेर पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने चेतावनी दिनुभएको छ ।

‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ’नेउपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।