Swornakshar Logo

फागुनमा स्थानीय तहको चुनाव नगराएर ५९ साल फर्काउने षडयन्त्र छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन नगराउने सोचमा रहेको बताएका छन् ।
संखुवासभा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपनि सरकारको ध्यान निर्वाचन भन्दा अर्कै तर्फ रहेको आरोप लगाएका छन् । उनले भने, ‘सरकार लुटपाटमा लागेको छ । चुनावतिरको तयारीमा होइन् ।’

स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडी नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उनले बताए ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ साल वैशाखमा सम्पन्न भएकाले अहिले फागुनमा नै निर्वाचन हुनुपर्छ ।

उनले भने, ‘स्थानीय निर्वाचनसम्बन्धि ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि निर्वाचन गरिसक्नु पर्छ । चरण चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडी नै निर्वाचन हुनुपर्ने हो । २०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडी निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।’

अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभइ दुनिया हल्लाउने गरि काम भएपछि आफ्नो सरकार ढालिएको बताए ।

विश्वबैंक, युनेस्को र डब्ल्युएचओलले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको बताए । एमालेले नेतृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको, शिक्षाको क्षेत्रमा युनेस्कोले ,स्वास्थ्यको क्षेत्रमा डब्ल्यूएचओले प्रशंसा गरेको दाबी गरे।