Swornakshar Logo

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

काठमामाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बस्नुभएको छ। देउवा आज (शनिबार) देखि आइसोलेशनमा बस्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उहाँ आइसोलेटमा बस्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको हो । उहाँ केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्ड सँगै हुनुहुन्थ्यो । बैठक बसेको भोलिपल्टै प्रचण्डलाई कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गर्नुभएको थियो ।