Swornakshar Logo

माओवादीमा उपाध्यक्षमा महराको र महासचिवमा गुरुङको इन्ट्री, महासचिवमा चुनाव हुने संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिएको दोस्रो दिनबाट विधान संशोधन गर्नु पर्ने माग उठेको छ । माओवादीले विधानमा एक जना वरिष्ठ उपाध्यक्षको पद व्यवस्था गरेको छ । तर अहिले नेता कृष्णबहादुर महराले विधान संशोधन गरेर आफूलाई पनि बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने माग प्रचण्डसंग राखेको स्रोतले बताएको छ ।

महराले आफू महासचिव नहुने तर वरिष्ठ उपाध्यक्ष आफूपनि हुन चाहेको बताएका स्रोतले बताए ।

माओवादीमा महासचिवमा मात्र विवाद रहेको भनिएपनि अब वरिष्ठ उपाध्यक्षमा पनि दुई जनाको दाबी सुरु भएको छ । सुरुमा नेता नारायणकाजी श्रेष्ठलाई मात्र वरिष्ठ नेता बताउने गरी विधानमा व्यवस्था गरेको भएपनि अहिले महराले पनि दाबी गरेका छन् ।

महासचिवमा नेता बर्षमान पुन र नेता जनार्दन शर्माबीच प्रतिस्पर्धा रहेको बताएपनि अहिले आएर देव गुरुङ महासचिवको दाबेदारको रुपमा देखिएका छन् ।
पछिल्लो समयमा महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अहिले आएर माओवादीमा महासचिवमा नयाँ टुवीस्ट भएको छ । महाधिवेशन सकिएपछि एकाएक देव गुरुङको इन्ट्री भएको छ । गुरुङले महासचिवमा दाबी गरेपछि शर्माले आफू चुनाव लडेर भएपनि महासचिव लड्ने बताएको स्रोतले बताएको छ ।

माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माको चर्चा थियो । तर महाधिवेशन सकिएपछि गुरुङको इन्ट्रीलाई रोचक रुपमा हेरिएको छ । अगाडिझ माओवादी वृतमा प्रचण्डले नै शर्मालाई रोक्न गुरुङलाई अगाडि सारेको बताइएको छ ।

प्रचण्डले गुरुङलाई अघि सारेसँगै शर्माले कुनै पनि हालतमा आफू महासचिवको दौडबाट पछि नहट्ने अडान लिएका छन् । उनले आफ्नो नाममा सहमति नहुने हो भने चुनावी प्रक्रियामा जान समेत तयार रहेको बताएका छन् । महासचिवमा अन्तिम समयसम्म सहमति बन्न नसकेको खण्डमा माहोल चुनावतिर जाने अवस्था बनेको एक केन्द्रीय कमिटी सदस्यले बताए ।

आइतबार आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले सोमबार दिउँसो ललितपुरको सानेपामा केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । सो बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यतालिका छ । यस्तै मनोनयन गर्न बाँकी केन्द्रीय कमिटीका सदस्यको सूची पनि प्रस्तुत गरिने बताइएको छ ।

जसमा ६३ जना मनोनयन गर्न बाँकी छ । यस्तै अध्यक्ष र पदाधिकारीको चयन गर्न पनि बाँकी राखिएको थियो ।
माओवादीको पदाधिकारीका मध्ये महासचिवमा पुन र शर्माले दाबी छोडेका छैनन् ।

पछिल्लो समय प्रचण्डले महासचिव बनाउन चाहेका गुरुङ पार्टी विभाजन हुँदा वैद्य समूहतिर लागेका थिए । उनी बादलको नेतृत्वमा माओवादीमा फर्किएका नेता हुन् ।