Swornakshar Logo

माओवादी महाधिवेशनः रिपोर्टिङ नेतृत्वको देवत्वकरण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि बुधबार ११ वटा समूहले आ–आफ्नो समूहको रिपोटिङ राखेका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल गरेको थियो ।
समूको रिपार्टिङ राख्ने अधिकांश टोलि नेताले राजनीति प्रतिवेदनमाथि भन्दा पनि नेतृत्वको देवत्करण गरेको आरोप प्रतिनिधिहरुले लगाएका छन् ।

रिपोर्टिङ राख्नेमा मुलत तीन प्रकारका प्रवृति देखिएका चर्चा महाधिवेशन हलमा सुनिन थालेका छन् । पहिलो नेतृत्व अथवा प्रचण्डको देवत्करण, दोस्रो हामी नै सबै भन्दा राम्रो छौ र तेस्रो हामीले जति राम्रो काम अरु कसैले गरेको छैन । एक महाधिवेशन प्रतिनिधिले भने ‘यहाँ राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि त धेरै कमले टिप्पणी र सुझाव दिए । अधिकांशले त प्रचण्डको देवत्करण गरेका छन् । जुन माओवादीका लागि घातक हो ।’

बुधबार ११ समूहले राखेका रिपोर्टिङ हेर्दा राजनीतिक प्रतिवेदनमा अपुरा रहेका कुराको चर्चा छैन । समाजवादमा पुग्ने बाटो के हो ? कसरी पुगिन्छ ? अबको राजनितिक कार्यदिशाले समाजवादमा पुगिन्छ कि चुनावको गोलचक्करमा मात्र फसिन्छ कसैले कुरा उठाएको देखिदैन तर प्रचण्डको देवत्वकरण गरेर चाकडि गर्ने बढी देखिएका एक पूर्वकेन्द्रीय सदस्यले बताए । तीन पूर्वकेन्द्रीय सदस्यले भने ‘यहाँ विचारको बहस, कार्यदिशाको बहस छैन । पार्टी अहिलेको अवस्थाबाट कसरी राम्रो बनाउने भन्ने छैन । रिपोर्टिङ सुन्दा कसरी प्रचण्डको नजिक हुने । कसरी प्रचण्डको अगाडि नै चाकडि गर्ने भन्ने देखियो । जुन पार्टी संगठन होइन व्यक्ति केन्द्रीत भयो ।’

केहि टोलि नेताहरुले सहिद र बेपत्ता छानबिनका लागि बनेको आयोगले काम गर्न नसकेको बताएका छन् । जनताले उत्पादन गरेका वस्तु सरकारले खरिद गर्नुपर्छ । जनयुद्धका उपलब्धिका विषयमा पर्याप्त छलफल, बहस र चर्चा हुन आवश्यक रहेको कुरा उठाएका छन् ।

अहिले प्रतिवेदनमा भन्दा बढी चासो एमालेसंग एकता गर्नुको समिक्षा भएको एक अर्का प्रतिनिधिले बताए ।
पार्टीका नेताहरूको सम्पत्ति छानबिन हुनुप¥या भन्ने माग पनि बन्दसत्रमा रिपोर्टिङ गर्ने नेताहरुले राखेका छन् ।
टोलि नेता टंक राईले रिपोर्टिङ गर्ने क्रममा समाजवाद आउने हो कि हामीले ल्याउने हो ? भन्दै प्रश्न गरेका थिए । उनले ल्याउने र आउने कुरा नै दस्तावेजमा अन्यौल भएको बताएका छन् ।

राईले प्रचण्डपथ होइन, प्रचण्ड विचारधारा भन्नुपर्छ र यसलाई लागू गर्नु पर्ने माग गरेका छन् ।
माओवादी पार्टीमा बुद्ध दर्शन दस्तावेजमा समेटिनु पर्ने माग राइको रहेको छ । उनले ०५२ सालमा गरेको राजनीतिक प्रतिबद्धता कति पूरा भए वा भएनन् समीक्षा आवश्यक रहेको र कम्युनिस्ट सत्तामा गएर पनि किन जनमुखी हुन सकेनन् भनेर राईले प्रश्न गरेका थिए ।

पार्टी गण्डकी प्रदेश कमिटी अध्यक्ष तथा महाधिवेशनमा टोलि नेता गायत्री गुरुङले चिनियाँ सर्वहारा क्रान्तिको अनुशरण गर्ने विषय कहाँ पुग्यो ? भारतीय हस्तक्षेपबारे किन मौन ? भारतीय बजारले एकाधिकार जमाएको छ । त्यसबारे दस्ताबेजमा कतै खुलेको छैन । केन्द्रीय सदस्यको सम्पत्ति सार्वजनिक हुनुपर्छ । लाभको पदमा गएका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नु आवश्यक छ । एकै परिवारका दुईजनालाई लाभको पदमा नपठाइयोस् । एक व्यक्ति दुईपटकभन्दा बढी लाभको पदमा जान नपाउने व्यवस्था गर्नु पर्ने माग राखेकी छन् ।

गुरुङले आरक्षणको विषयमा पनि फरक धारण राखेकी छन् । उनले भनेकि छन् ‘आरक्षण एकपटक मात्रै दिनुपर्छ, अर्कोपटक उसले प्रतिस्पर्धा गर्नुपर्छ । एउटा व्यक्तिलाई सधैँभरि आरक्षण दिए अर्कोले अवसर पाउँदैन ।’

पार्टीका आन्तरिक समस्याको विषयमा दस्ताबेजमा उल्लेख नभएको बताएकी छन् ।

एमालेसँग एकता गरियो, तर त्यो विचारको थिएन । त्यसको परिणाम हाम्रो अगाडि छ । यसको अर्थ के हो भने विचारको एकता नभईकन अरू एकताले काम गर्दैन । दस्ताबेजमा वाम–लोकतान्त्रिक एकता भनिएको छ । विचार र विधिको एकता नभएपछि कमजोर भइन्छ । त्यसैले क्रान्तिकारीहरूको एकता भन्नुपर्छ । दस्ताबेज लेखेर मात्रै हुँदैन । दस्तावेजअनुसार त्यसको कार्यान्वयन भएको वा नभएको पनि नेतृत्वले निरन्तर अनुगमन गर्नुपर्ने माग पनि उठेको छ ।

हर्कबहादुर नेम्वाङले कार्यकर्ता मूल्यांकन नीति र विधिसम्मत नभएको रिपोर्टिङ गरेका छन् ।

प्रवास समन्वय समितिबाट मनऋषि धितालले दस्तवेजमा पेरुका क्रान्तिकारी नेता गोन्जालोलाई पनि स्मरण गरिनुपथ्र्यो । एमसिसी पारित हुनुहुँदैन । मौन रहने वा छलफल गर्ने भन्ने विषय नै होइन, कुनै हालतमा पारित गर्नुहुँदैन भनेका छन् ।
गुटबन्दी गरेर प्रदेश नेतृत्व हत्याउनेले नै गुटबन्दी हाम्रो संस्कृति बन्ने खतरा रहेको रिपोर्टिङ गरेको बागमति प्रदेशका एक प्रतिनिधिले बताए ।

केन्द्रीय विभागबाट गीता पनेरूले महिलालाई पनि सधैँभरि सम्मान र आरक्षण गर्ने भन्ने हुँदैन । एकपटक आरक्षणमार्फत अवसर दिएपछि अर्कोपटक प्रतिस्पर्धाबाट आउनु पर्ने बताएकी छन् । समाजवाद हामीले मात्रै चाहेको वा अरू शक्तिको पनि आवश्यकता हो ? कोसँग कसरी सहकार्य गर्ने भन्ने विषय स्पष्ट हुन जरुरी रहेको बताएकी छन् ।

हामी भारतसँग डराएका हौँ ? यो विषय समेटिनुपर्छ । पार्टी अनुशासनमा कडाइ गर्नुपर्छ । आवश्यक पर्दा जनप्रतिनिधिलाई फिर्ता बोलाउनुपर्छ । मनपरी र भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई सार्वजनिक पदमा रहिरहन दिनुहुन्न । यसलाई पनि समेट्न जरुरी छ । शान्ति–प्रक्रियापछिको अधिकांश समय पार्टी सरकारमा गएको छ । तर, ग¥यो के भन्ने विषयमा जनतालाई भन्न सकेको नसकेको सुदुरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवरले राखेका थिए ।

कर्णालीबाट विमला केसी माओवादीको नेतृत्वमा बनेका तीनवटै सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्छ । भ्रष्टाचार गर्ने र कमिसन खानेलाई कारबाही गर्नुपर्छ । नेतृत्वको देवत्वकरण गरेर पार्टी नबन्ने बताएकी छन् । केसीले स्थानीय तहको चुनावमा पराजित हुने, तर केन्द्रीय कमिटी र स्थायी कमिटीमा भाग खोज्ने संस्कृति रहेको बताएकी छन् ।

नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्दछ । महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत भएन, हुनुपर्ने माग केसीले राखेकी छन् ।
बुधबार दिनभरी भएको माओवादी टोली नेताहरुको रिपोर्टिङ हेदा पार्टी बिग्रेको चिन्ता सबैमा तर पार्टी बनाउने विधि नेतृत्वको देवत्वकरण गरेर गर्न खोजेको प्रतिनिधि नै बताउछन् ।