Swornakshar Logo

माओवादी महाधिवेशनः प्रतिवेदनमाथि समूहगत रिपोटिङ सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत रुपमा छलफल सकेका छन् ।

समूहगत रुपमा छलफल सकिएसंगै तेस्रो दिनको बन्दसत्रमा समूहगत रिपोर्टिङ पेश गर्ने क्रम सुरु भएको छ । बन्दसत्रमा समूहगत रिपोर्टिङ लिखित रुपमा पनि राख्न भनिएको छ । त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ ।

समूहका नेतालाई आफ्नो रिपार्टिङ १५ मिनेटभित्र सक्न भनिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार र बुधबार दिउसोसम्म प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय दिएको थियो । छलफलका लागि २५ समूह बनाएको थियो ।

हलबाट आएका सुझावलाई समेत समेटेर प्रचण्डले पुन दस्तावेजलाई पूर्णता दिनेछन् । प्रचण्डको दस्तावेजसँगै नेता देव गुरुङले पेश गरेको विधान संशोधन समेत पारित गरेपछि नेकपा माओवादीले नयाँ केन्द्रीय समितिको नाम घोषणा गर्नेछ ।