Swornakshar Logo

प्रथम राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र : शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको तयारी अघि बढाएको छ । यही पुस ११–१३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्मेलन हुँदैछ ।

सो पार्टीले नेकपा एमालेले जस्तो सम्मेलनमा शक्ति प्रदर्शन नगरिने जनाएको छ । नेपाली कांग्रेसले पनि आफ्नो महाधिबेशनमा शक्ति प्रदर्शन गरेको थिएन ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा करिब १५ सयजना सहभागी हुनेछन् ।

पुस ११ गते सम्मेलनको उद्घाटन गरिनेछ । १२ गतेदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, समसमायिक, विधानलगायत दस्तावेज प्रस्तुत हुनेछन् ।

दस्तावेज पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुनेछ । हालको विधान संशोधन नभए २९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । विधान संशोधन गरेर ११–१५ जनासम्मको पदाधिकारी बनाउने तयारी पनि गरिएको छ ।

राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन भोलि पत्रकार सम्मेलन आयोजना गर्ने तयारी छ ।