Swornakshar Logo

चाडवर्पले एकता र आपसी सद्भाव वृद्धि गर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको महान पर्व उधौली नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो संख्यामा बसोबास गर्ने किराँत समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

किराँत समुदायले आजको दिनदेखि हिउँद सुरु हुने मान्यता राछन् । यहि समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसितिर बसाइ सर्ने गर्छन। साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ। यस पर्वमा परम्परागत भेषभूषा लगाएर किराँत समुदायका मानिसहरु सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ।

‘भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ । प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यसले किराँत सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ।’ किराँतहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रुपमा पनि लिइने सन्देशमा उल्लेख छ।