Swornakshar Logo

कांग्रेस बागमति प्रदेश सभापतिमा बानियाँ बिजयी

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ बिजयी भएका छन् ।

बागमति प्रदेश सभापतिमा बानियाँले जगदीश्वर नरसिंह केसीलाई १५८ मतको अन्तरले जितेका छन् । बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन् । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । १३ वटा मत बदर भएको थियो। पहिला पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो पटक मतदान भएको थियो । दोस्रो पटकको मतदानमा बानियाँले ५३ प्रतिशत मत ल्याएका छन् ।

पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।

पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । सोही मत दुईतिर बाडिएको मत अंकले देखाएको छ ।

बानियाँ २०४४ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । २०५१ पछि लगातार उनी काँग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आएका छन् । बानियाँ २०५३ मा नेविसंघ मकवानपुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भएका थिए ।

२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित भएका बानियाँ २०७० मा भएको दोस्रो संविधान सभामा सांसद निर्वाचित थिए । त्यसपछि भए ०७२ भएको मकवानपुर जिल्ला अधिवेशनबाट बानियाँ सभापति बनेका थिए । २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी समेत बने ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेश सांसद बनेपछि बानियाँ सर्वसम्मत रुपमा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भएका थिए ।

काँग्रेस बागमती प्रदेश सभापति बन्न भने बानियाँले संघर्ष गर्नुपर्यो । सभापति देउवा पक्षबाट निर्विकल्प रुपमा प्रदेश सभापतिको उम्मेदवार बनेका बानियाँलाई जित्न भने नेता कृष्णप्रसाद सिटौला पक्षको साथ चाहियो ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघरसंस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये हिजोको दोस्रो मतदानमा २ हजार २५ मत खसेको थियो । प्रदेश समितिको अन्य पदाधिकारी र सदस्यहरूको भने मतगणना आज गरिने बताईएको छ ।बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको प्रतिक्रिया दिए ।