Swornakshar Logo

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएको पदमा भोलि मतदान हुने (तालिकासहित)

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो अन्त मध्यरातमा निर्वाचन प्रक्रियामा जान मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

महाधिवेशनका भाग लिएका प्रतिनिधिहरुको नाम बन्दसत्र भएको स्थानमा टाँस्ने छन् । प्रतिनिधिहरुले नै मतदान गरेर नेतृत्व चयन गर्ने गर्छन् । प्रतिनिधिको नामावली मतदाताका रुपमा प्रकाशन गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधि नै मतदाता हुन् । एमालेले महाधिवेशन हलबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । अहिले लगभग सर्वसम्मत रुपमा नेतृत्व चयन भएको बताइन्छ । तर पनि सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी गर्न माग गरेमा ती पदमा मतदान गर्नु पर्ने हुन्छ । त्यसको लागि पनि नामावली टाँस्ने भएका छन् ।

महाधिवेशनको चुनावी प्रक्रियालाई कानूनी रुपमा पनि प्रमाणित गर्न मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको मनोनयन प्रक्रियालाई पूर्णता दिनुपर्ने हुन्छ ।

राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

आइतवार राति ११ बजेदेखि दशौं महाधिवेशनको निर्वाचन कार्यक्रम प्रारम्भ भएको बताइएको छ । सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।